दिलिप रायमाझी अभिनीत फिल्म 'हेल्लो काँशिराम' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माण पक्षले सोमबार फिल्मको फस्र्टलुक पोस्टर ल्याउँदै आउँदा जेठ २ गतेका लागि प्रदर्शन मिति तय गरेको हो।
सार्वजनिक पोस्टरमा अभिनेता दिलिप रायमाझीलाई एउटा बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ। यसबाट यो फिल्म कमेडी जनरामा बनेको अनुमान गर्न सकिन्छ।
फिल्मको कथावस्तु अहिले खुलाइएको छैन। तर निर्माण टिमका अनुसार, छिट्टै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी गराइनेछ।
रिम विश्वकर्माको लेखन तथा निर्देशन रहेको फिल्ममा दिलिपसँगै सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन्। त्यस्तै, हास्य कलाकार उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु समेतको अभिनय रहेको जनाइएको छ।
फिल्ममा दर्शकहरूले अभिनेत्री प्रियंका कार्कीलाई विशेष भूमिकामा देख्न पाउने निर्देशक विश्वकर्माले जानकारी दिए।
रेडलाइन फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यो फिल्मको निर्माता पी.बी.थापा हुन् भने यम आलेले फिल्म खिचेका हुन्। फिल्म मित्र डी.गुरूङले सम्पादन तथा रंग संयोजन गरेका छन्।
फिल्ममा कविराज गहतराजको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व निर्देशन, नरेन्द्र वियोेगी र विपिन आचार्यको संगीत संयोजन छ। फिल्मका गीतहरूमा प्रताप दास, मेलिना राई, राजु परियार, किरण सुनार र अनिक गिरीको आवाज रहेको जनाइएको छ।
निर्देशक रिम विश्वकर्माले फिल्मको प्रचारप्रसारलाई अझ प्रभावकारी बनाउन कलाकार टोलीले आगामी सातादेखि देशव्यापी प्रचार अभियान सुरू गर्ने जानकारी दिए।
निर्देशक विश्वकर्माले यसअघि 'नेपाली वीर', 'सम्झिराख है', 'रेलिमाई' जस्ता फिल्महरू निर्देशन गरिसकेका छन्।
'हेल्लो काँशिराम' आरआर फिल्मस्ले वितरण गर्नेछ।