कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आइतबारदेखि विरेन्द्रनगरमा सुरू भएको छ।
रेड चेरीको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा कर्णालीमा आयोजित महोत्सव सोमबारसम्म चल्नेछ।
महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले उद्घाटन गरे। विशेष अतिथिका रूपमा पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, पूर्व राज्यमन्त्री कुन्ती शाही, पूर्वमन्त्री रामकुमारी झाँक्री, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेता प्रदीप खड्का तथा फिल्म ‘पुजार सार्की’ का लेखक एवं निर्देशक विकास सुवेदी उपस्थित थिए।
महोत्सवमा उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणा, मुक्तिनाथ विकास बैंकका सीईओ प्रधुम्न पोखरेल, कलाकार, चलचित्रकर्मी तथा स्थानीय बौद्धिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।
महोत्सवका निर्देशक चक्र बहादुर चन्दका अनुसार कर्णालीलाई फिल्म पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
यस अवसरमा विकास सुवेदीको निर्देशनमा बन्न लागेको ‘२६ करोड’ नामक फिल्मको कर्णालीमै छायांकन गर्ने औपचारिक सम्झौता समेत गरियो।
सोमबार गुराँस गाउँपालिकामा 'गुराँस चलचित्र संवाद' कार्यक्रम आयोजना गरिँदैछ। यस संवादमा कर्णाली प्रदेशमा फिल्मको भविष्य, स्थानीय कथावस्तुको सम्भावना, र क्षेत्रीय चलचित्र विकासका विषयमा छलफल गरिनेछ।
महोत्सवले कर्णालीलाई नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रका लागि प्रमुख छायांकन स्थलका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कर्णालीका मौलिक कथा, प्राकृतिक सौन्दर्य, र सांस्कृतिक धरोहरलाई नेपाली फिल्ममा समेट्न विशेष पहल गरिने आयोजकले जनाएको छ।