क्राइम थ्रिलर फिल्म '११ः५५' (डु नट ट्रस्ट एनिवन) को ट्रेलर सार्वजनिक गरिएको छ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ३ मिनेट २८ सकेण्ड अवधिको ट्रेलरमा मानिसहरू आफ्नो स्वार्थका लागि जे पनि गर्नसक्ने प्रवृत्तिलाई कथामार्फत देखाउन खोजिएको छ।
लभ, रोमान्स, धोका र बदलाको रहस्यले भरिपूर्ण ट्रेलरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ। यसर्थ फिल्मले विशेषगरी युवा दर्शकलाई आकर्षित गर्ने अनुमान गर्न सकिन्छ।
केशव पाण्डेको डेब्यु निर्देशकीय फिल्म '११ः५५' मा सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ, एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारी, सागर खनाल लगायतको अभिनय छ।
यसमा निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ। निर्देशक पाण्डे आफूलाई फरक काम गर्न मन लाग्ने भएकाले पनि डेब्यु निर्देशकीय फिल्म नै क्राइम थ्रिलर जनरा छानेको बताउँछन्। आफ्नो सोँच अनुरूप नै कलाकार छनोट गरिएको र ती कलाकारबाट उत्कृष्ट काम निकालेको उनको भनाइ छ। पोष्ट प्रोडक्सनमा केही समय लागेकाले पनि फिल्म रिलिजमा केही समय लागेको उनले बताए।
विचित्र फिल्मस् र गुड जब आर्टसको व्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। कार्यकारी निर्माता एमएस अग्रज हुन्।
अल्मोडा राना उप्रेतीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले फिल्ममा प्रोडक्सन डिजाइनरको रूपमा छन्।
फिल्म चैत ८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउनेछ।