सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान बनाएको 'पूर्ण बहादुरको सारंगी' का निर्माताले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन्। आइतबार थिम पोस्टर सार्वजनिक गर्दै 'अभिमन्यु' निर्माणको घोषणा गरिएको हो।
यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ। आगामी साउन २४ गते फिल्म रिलिज हुने पोस्टरमा उल्लेख छ। थिम पोस्टरले फिल्म चक्रब्युह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ।
पैसाको प्रलोभनमा चक्रब्युहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा फिल्मले भन्ने अनुमान लगाउन सकिन्छ।
सेभेन सिज सिनेमाको प्रस्तुति रहने 'अभिमन्यु' सुशान्त गौतमले निर्देशन गर्नेछन्। कथा मुकेश खनालले लेखेका हुन् भने क्रियटिभ निर्देशकमा मदन थापा रहेका छन्।
फिल्मको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाईं र हरि श्रेष्ठ छन्। फिल्म हिन्दी भाषामा समेत निर्माता हुने जनाइएको छ।
निर्माणपक्षले कलाकार र कथावस्तुबारे विस्तृत जानकारी गराएको छैन।