दिनेश राउत निर्देशित फिल्म 'महाभोज' को छायांकन सकिएको छ।
शुक्रबार बेलुका काठमाडौंमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायांकन गर्दै फिल्मको इन्डक्ल्याप गरिएको हो।
गत माघ ८ गते पोखराको घाचोकबाट सुरू भएको छायांकन ३५ दिनमा सकिएको निर्देशक राउतले बताए। उनका अनुसार ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायांकन गरिएको हो।
निर्देशक राउतका अनुसार 'महाभोज' समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरूद्धको कथामा आधारित छ। फिल्मले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन्।
'महाभोज' निर्देशक दिनेश राउतको आठौं फिल्म हो। फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरूङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन। स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने राजेश श्रेष्ठले छायांकन गरेका छन्।
हालसम्म 'महाभोज' को प्रदर्शन मिति भने घोषणा गरिएको छैन। निर्देशक राउतले फिल्म रिलिजको लागि उपयुक्त मिति छनौट गरी जानकारी दिने बताए। यो फिल्म नेपालमा काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछन्।