'काठमाडौं उत्सव' को पहिलो संस्करण फागुन १६ र १७ गते काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने भएको छ।
साहित्य विशेष उत्सव भए पनि यसमा काठमाडौंको संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएको काठमाडौं उत्सवका अध्यक्ष प्रकाश समीरले बताए।
दुई दिनसम्म चल्ने काठमाडौं उत्सवमा १५ वटा सत्रहरू रहनेछन्। आठ जना स्थापित कविहरूको कवितावाचनबाट उत्सव उद्घाटन हुने काठमाडौं उत्सवका संयोजक तथा कवि–गजलकार बाबु त्रिपाठीले जानकारी दिए।
उद्घाटनका क्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भूपाल राई, बैरागी काइँला, तुलसी दिवस, सुलोचना मानन्धर, विप्लव प्रतीक, उषा शेरचन, दिनेश अधिकारी र होमनाथ सुवेदीले कविता वाचन गर्नेछन्।
त्यसपछिका कार्यक्रमहरू काठमाडौं उत्सवका सल्लाहकार ओम रिजालको मन्तव्यसँगै अघि बढ्नेछ। अहिलेकी लोकप्रिय गायिका शान्तिश्री परियारको दुर्लभ संर्घर्षदेखि लोभलाग्दो सफलतासम्मको सत्र महोत्सवको प्रमुख आकर्षण रहनेछ। शान्तिश्रीले कवि दीप दर्पणसँग साधना र सफलता शीर्षकमा अन्तरसंवाद गर्नेछिन्।
त्यसैगरी उत्सवको पहिलो दिन लेखकहरू ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच अक्षरका आयामहरू शीर्षकमा विशेष कुराकानी हुनेछ।
पत्रकार राजेन्द्र बाँनियाको सहजीकरणमा अरूण गुप्तो, नानी हेरा शाक्य र रवीन्द्र पुरीले सम्पदा, संस्कृति र सभ्यता शीर्षकमा काठमाडौंको संस्कृतिको ऐतिहासिक तथा मौलिक पक्षहरुबारे छलफल हुनेछ।
ज्ञान विवेक र विज्ञान विषयमा हुने सत्र लेखक विमल आचार्यले सञ्चालन गर्नेछन्। यसमा डा. विद्यानाथ कोइराला, डा. रजनी ढकाल र बसन्त सापकोटा वक्ता रहनेछन्।
विभिन्न उमेर समूहका पुस्तक प्रेमीबीच लोकप्रिय बुकाहोलिक्सकी समूहकी संस्थापक सगुना शाहले कलेजमा पढिरहेका तन्नेरी विद्यार्थीहरुसँग सानो संसार/ठूलो संसार शीर्षकमा भलाकुसारी गर्नेछिन्।
कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यामिकताजस्ता विषय समेटिएको काठमाडौं उत्सवमा आममान्छेका अनुभवलाई समेत प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ। दशकौंदेखि मकै पोलेर र चिया पकाएर गुजारा चलाइरहेका आममान्छेका अनुभवलाई सत्रमा राखिएको छ, भुइँका कुराको सहजीकरण लेखक विना थिङले गर्नेछिन्।
महोत्सवका सल्लाहकार दीप दर्पणले भने, ‘काठमाडौं उत्सवलाई नियमित रूपमा हुने साहित्यिक महोत्सवभन्दा भिन्न बनाउन हामीले विज्ञका मात्र नभइ किनारामा पारिएका भुइँ मान्छेका विचारहरूलाई पनि विशेष प्राथमिकता दिएका छौं।’
काठमाडौं उत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अध्यक्ष होमनाथ सुवेदीले नेपाली साहित्यमा डायस्पोराको अवस्था विषयमा विद्वत प्रवचन दिनेछन्।
चलचित्र निर्देशनमा नयाँ पुस्ता शीर्षकमा चल्ने सत्र दोस्रो दिनको अर्को आकर्षण रहनेछ जसमा निर्देशकत्रय सुजित बिडारी, कृषा चौलागाईं र अनिल बुढामगर वक्ता रहनेछ। उनीहरूले लेखक प्रभाकर गौतमसँग आफ्ना अनुभव साट्ने छन्। दोस्रो दिन नै फाइन आर्टसको सेरोफेरो कलाकारहरू एरिना ताम्राकार, एससी सुमन र ताराप्रसाद ओझबीच छलफल हुनेछ। कला एक फ्युजन शीर्षकमा हुने यो सत्र कार्टुनिस्ट रवि मिश्रले सञ्चालन गर्नेछन्।
ओम रिजाल, अमला अधिकारी, शैलेन्द्र अधिकारीबीच आख्यानमा द्वन्द्व र दर्शन शीर्षकमा छलफल हुनेछ। सत्रलाई आख्यानकार उमा सुबेदीले सहजीकरण गर्नेछिन्।
कला, साहित्य, संस्कृति, सम्पदा, पर्यटनसँगै युवा पुस्ताको काम, उपस्थिति र सोचलाई पनि केन्द्रमा राखेर छलफलहरु राखिएको काठमाडौं उत्सवका सदस्य सचिव प्रज्वल अधिकारीले बताए।
पाका कविका कविताहरूबाट सुरू हुने उत्सव नयाँ पुस्ताका कविताहरूसँग समापन हुनेछ। काठमाडौंको सभ्यता झल्काउने रैथाने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने आयोजकद्वारा जनाइएको छ।