फिल्म 'फेरि रेशम फिलिली' को भव्य प्रिमियर शो गरिएको छ।
मंगलबार बेलुका ललितपुरको लाबिम मलमा गरिएको प्रिमियरमा सेलिब्रेटीहरूको बाक्लो उपस्थिति रह्यो।
फिल्म हेरेर निस्किँदै गर्दा अधिकांशले यसको कथा, प्रस्तुति शैली, अभिनय र फिल्मले दिएको सन्देशको तारिफ गरे।
'ए मेरो हजुर' सिरिजका निर्माता सुनील कुमार थापाले फिल्म आफूले सोचेभन्दा धेरै राम्रो बनेको बताए। उनले फिल्ममा 'हरिया' को भूमिका निर्वाह गरेका कामेश्वर चौरसियाको कामको खुलेरै तारिफ गरे।
'पिताम्बर' फिल्मको प्रदर्शनको तयारीमा रहेकी निर्मात्री तथा निर्देशक कृषा चौलागाईंले एकदमै रमाइलो खालको फिल्म बनेको बताइन्।
अभिनेत्री ऋचा शर्माले कमेडी च्याम्पियनपछि 'फेरि रेशम फिलिली' हेरेर 'एकदमै रमाइलो' लिएको बताउँदा अर्की अभिनेत्री शिल्पा मास्केले फिल्म 'एकदमै मनोरञ्जक' बनेको बताइन्।
लेखक, निर्देशक तथा साहित्यकार उपेन्द्र सुब्बा, निर्देशक नवीन चौहान, कमेडियन सुमन कार्की, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की लगायतले पनि फिल्मको तारिफ गरे।
यसैगरी निर्माताहरू सरोज न्यौपाने, रोहित अधिकारी, अभिनेत्री सिमरन खड्का लगायतले पनि फिल्मको खुलेरै तारिफ गरे।
अधिकांशले फिल्म रमाइलो र व्यवसायिक बनेको भन्दै डेब्यु निर्देशक निरोज महर्जनको कामको समेत तारिफ गरे।
'फेरि रेशम फिलिली' १० वर्षअघिको फिल्म 'रेशम फिलिली' को सिक्वेल हो।
फिल्ममा विनय श्रेष्ठ र सुपुष्पा भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ।
सिनेमा आर्ट प्रा.लिले भी मोसन पिक्चर्सको सहकार्यमा निर्माण गरेको फिल्मको निर्माता रौनक विक्रम कडेल हुन् भने कार्यकारी निर्मातामा सुरज बम ठकुरी तथा सह–निर्मातामा एनी थापा छन्।
फिल्ममा अमेरिका सपनाको कथा उठाइएको छ। कमेडी र मनोरञ्जनात्मक यो फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ। 'फेरि रेशम फिलिली' शिवरात्रिको अवसर पारेर बुधबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ।