सौन्दर्य प्रतियोगिता 'मिस नेपाल नर्थ अमेरिका २०२५' का लागि आवेदन खुला गरिएको छ। आयोजक संस्था ड्रिम्स युनिभर्सलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो।
यो उत्तर अमेरिकामा बस्ने नेपाली मूलका महिलाहरूको सौन्दर्य प्रतियोगिता हो।
यसमा प्रतियोगी १८ देखि २९ वर्षको बीचमा हुनुपर्ने, विगतमा विवाह समेत नगरेको हुनुपर्ने लगायत मापदण्ड राखिएको छ। त्यस्तै, उच्च माध्यमिक वा सो सहरको शैक्षिक योग्यता हुनुपर्ने, न्यूनतम उचाई ५ फिट १ इन्च हुनुपर्ने लगायत सर्त छन्।
मिस नेपाल नर्थ अमेरिकाको वेबसाइटमार्फत इच्छुकले आवेदन दिन सक्ने जनाइएको छ। ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ शैलेन्द्र श्रेष्ठले कार्यक्रमलाई उत्कृष्ट र भव्य रूपमा सम्पन्न गरिने बताएका छन्।
'मिस नेपाल नर्थ अमेरिका' उत्तर अमेरिकाको प्रतिष्ठित नेपाली सौन्दर्य प्रतियोगिता हो। यसमा विजेता हुनेले मिस नेपाल २०२५ को फिनालेमा भाग लिने मौका पाउनेछन्।
संयुक्त राज्य अमेरिकामा नेपाली वंशका प्रतिभाशाली, सांस्कृतिक र बौद्धिक युवतीहरूलाई सम्मान र पहिचान गर्नु र उनीहरूलाई कला, शालीन र सौन्दर्य प्रतियोगिताहरूको अनुग्रह झल्काउने प्रतियोगितामार्फत उनीहरूको अद्वितीय प्रतिभा र जोश प्रदर्शन गर्न प्लेटफर्म प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ।
यसको अघिल्लो संस्करणमा नर्थ क्यारोलिनाकी अन्ना कोइरालाले 'मिस नेपाल नर्थ अमेरिका २०२४' को ताज पहिरिएकी थिइन्।