प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जिने भएका छन्।
आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा 'गुलाम अली थ्री जनेरेशन अन वन स्टेज' हुने भएको हो।
त्यहाँ उनले करिब ३ घण्टा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन्। यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै कार्यक्रमबारे जानकारी दिएको हो।
कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको माग अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए। शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले बताए।
उनका अनुसार मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम नेपाल आइपुग्ने छ। उनले ‘गाजलु ती ठूला ठूला आँखा’ लगायतका ४ नेपाली गीतसहित थुप्रै हिन्दी गीत श्रोतामाझ पस्कने छन्।
गुलाम अलीसँगै उनका छोरा अमिर गुलाम अली र नाती नाजिर गुलाम अलीले पनि नेपाल दर्शक तथा श्रोतालाई आफ्नो स्वरमा मन्त्रमुग्ध पार्ने आयोजकले जानकारी दिएको छ।
सोही कार्यक्रममा वरिष्ठ गीतकार तथा संगीतकार दीपक जंगमलाई विशेष सम्मान समेत गर्ने तयारी छ। गीतकार तथा संगीतकार जंगमले गुलाम अलीका चार गीतमा शब्द रचना तथा संगीत दिएका छन्। संगीतकार जंगमले पनि नेपाली संगीतमा ठूलो योगदान पुर्याएका प्रसिद्ध गलकारसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए। त्यससँगै सोही स्टेजमा आफूलाई सम्मान गर्ने कुराले थप हौसला मिलेको बताए।
साधना कला केन्द्रका सञ्चालक तथा यो कार्यक्रमका आयोजक मिलन मोक्तानले गुलाम अलीको कार्यक्रममा टिकटबाट संकलित रकमको केही प्रतिशत रकम गायन र नृत्यमा लागिरहेका बच्चाहरुलाई १ वर्षको छात्रवृति समेत प्रदान गरिने बताए।
कार्यक्रमको टिकट मूल्य ५ हजारदेखि दुई लाखसम्म राखिएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। टिकट व्यवस्थापन इ–सेवाले गर्नेछ।