चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ।
धुलिखेल नगरपालिकाको ३९ औँ स्थापना दिवसको अवसरमा आउटडोर फिल्म स्टुडिओ निर्माणका लागि मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डिसीबीच उक्त सम्झौता भएको हो।
कार्यक्रममा पूर्व सञ्चारमन्त्री माननीय गोकुल बास्कोटा, उपमेयर निराजन जंगम, चलचित्र विकास बोर्ड सदस्य केवल पिडित, चलचित्र कलाकार संघका पूर्व अध्यक्ष रविन्द्र खड्का लगायतको समेत उपस्थिति थियो।
सो अवसरमा बोल्दै बोर्ड अध्यक्ष डिसीले धुलिखेलमा चलचित्र विकास बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे।
उनले भने, 'यो स्टुडिओ नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ। यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ।'
नगरपालिकाका मेयर अशोक कुमार ब्याञ्जु श्रेष्ठले फिल्म क्षेत्रको विकासका लागि धुलिखेल नगरपालिकाले साथ दिने बताए।
उनले भने, 'यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ। पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ।'
नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय फिल्म निर्माता तथा निर्देशकहरूलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने विकास बोर्डले जनाएको छ।