चर्चित गायक रामकृष्ण ढकालले फिल्म निर्माण घोषणा गरेका छन्।
उनले 'मालती मंगले' शीर्षकमा फिल्म बनाउने भएका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले आफूले फिल्म निर्माण गर्न लागेको औपचारिक जानकारी दिएका हुन्।
यो फिल्म केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता गरिएको थियो।
रामकृष्ण ढकालले सन् २००१ (वि.सं. २०५८) मा निर्माण भएको फिल्म 'आशीर्वाद' मा शीर्ष भूमिकामा अभिनय गरेका थिए। उक्त फिल्म उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए। 'आशीर्वाद' ढकालको सांगीतिक यात्रासँग विशेष रूपमा जोडिएको र उनको जीवनकै अविस्मरणीय क्षणमध्ये एक रहेको उनले स्मरण गरेका छन्।
ढकालले लेखेका छन्, 'समय कति छिटो बित्दो रहेछ, आज त्यो क्षणलाई सम्झँदा २३ वर्ष बितिसकेको रहेछ! अब, फेरि पनि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ। तर, यस पटक भूमिकामा परिवर्तन आएको छ। अब म निर्माता को रूपमा तपाईँहरूसामु आउँदैछु।'
संगीतलाई जीवन मानेका ढकालले फिल्म 'मालती मंगले' ले आफ्ना लागि विशेष महत्व राख्ने उल्लेख गर्दै भनेका छन्, 'यो चलचित्रले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ। म सबै दर्शक, चलचित्र प्रेमी, शुभचिन्तक र सङ्गी–साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु।'
फिल्म रानी म्युजिक इन्टरनेसनल प्रा.लि.को ब्यानरमा निर्माण हुनेछ। निर्देशन प्रकु पाण्डे (प्रकाश) ले गर्नेछन्। कार्यकारी निर्माताका रूपमा सागर ज्ञवाली रहनेछन्।