मल्टिस्टारर फिल्म 'पिताम्बर' को गीत 'म त फ्यान भए यार' सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक यो गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर छ भने भिडिओमा फिल्मका शीर्ष कलाकार अभिनेता प्रदीप खड्का र अभिनेत्री दिव्या रायमाझी फिचर्ड छन्।
गीतका शब्द आनन्द अधिकारी र आशिष अविरलको हो भने संगीत अविरलको छ।
तराईको लोकेसनमा सेट बनाएर भिडिओ छायांकन गरिएको हो। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडिओ निकै उत्कृष्ट लाग्छ। दरबारीया शैलीमा तयार पारिएको सेटका हरेक कुरालाई उत्कृष्ट ढंगले सजाइएको देखिन्छ। भारतबाट सेटसहित कामदार ल्याएर यो गीत खिचिएको निर्माता विशाल चौलागाईंले बताए।
'तराईको लोकेसनमा फिल्म खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं। सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौं,' उनले भने, 'यो गीत छायांकन हुँदा झण्डै ६ हजार स्थानीय भेला भएका थिए। क्यामराको फ्रेममा स्थानीय पर्ने सम्भावना उत्तिकै थियो। तर स्थानीयलाई फ्रेममा नपारीकन निकै चुनौतीपूर्ण रूपमा यो गीतको काम पुरा गर्यौ।'
गीतको भिडिओमा फिल्मका प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल) को पनि अभिनय छ।
केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को व्यानरमा निर्माण भएको 'पिताम्बर' कृषा चौलागाईंले निर्देशन गरेकी हुन्।
फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरूष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।
फिल्ममा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल)ले समेत अभिनय गरेका छन्।
विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरूषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरूषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, हिमाल केसीको द्वन्द्व, बन्दे प्रसादको सम्पादन छ।
आरआर फिल्मसले वितरण गर्ने यो फिल्म आगामी चैत २९ गतेदेखि प्रदर्शनमा आउनेछ।