निर्देशक तुलसी घिमिरेले फिल्म 'पहाड' को छायांकन सुरू गरेका छन्।
मंगलबार बिहान गोरखा दरबारमा मुहूर्त गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। मुहूर्त सट अभिनेता मदनकृष्ण श्रेष्ठ, अरूण क्षेत्री र डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिए।
तुलसी घिमिरेकी कान्छी छोरी पञ्चमीले यही फिल्ममार्फत डेब्यु गर्न लागेका हुन्।
गोरखा आसपासमा २५ दिन र भारतमा १५ दिन यो फिल्मको छायांकन गर्ने तालिका छ।
युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्याको कथावस्तुमा फिल्म निर्माण हुन लागेको हो।
फिल्मको लेखन निर्देशक घिमिरेले नै गरेका हुन्। निर्देशक घिमिरेले अहिलेको समाजको तीतो यथार्थलाई फिल्ममार्फत दर्शकसमक्ष पुर्याउन लगिएको बताए।
उनले भने,'मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ। फिल्मले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ।'
उनले फिल्मको विषय अनुसार कलाकार चयन गरिएको बताए। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित रहेको उनको भनाइ छ।
ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायांकन गर्दैछन्। भारतमा फिल्म, वेब सिरिज र टेलीफिल्मसमेत छायांकन गरिसकेका छायांकार प्रधानले निर्देशक घिमिरेसँग अन्याय, कोसेली, चिनो र दक्षिणामा सहकार्य गरेका थिए। उनी तीस वर्षपछि नेपाली फिल्म छायांकनका लागि नेपाल आएका हुन्।
भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा विपीन कार्की, सुनिल थापालगायतका कलाकारले अभिनय गर्दैछन्। यसमा रञ्जित गजमेरको संगीत निर्देशन, भारती घिमिरे क्रिएटिभ निर्देशक छन्। रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह-निर्माता छन्।
थुप्रै सुपरहिट र यादगार नेपाली फिल्म दिएका निर्देशक तुलसी घिमिरे सात वर्षपछि निर्देशनमा फर्किएका हुन्। 'दर्पण छायाँ २' पछि उनले अन्य फिल्म निर्देशन गरेका थिएनन्। 'पहाड' उनको २३ औं फिल्म हुनेछ।
फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ।