फिल्म 'एक्टरः टेक वन' शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ।
नामको विषयलाई लिएर भएको विवाद बिहीबार टुंगिएसँगै फिल्म शुक्रबार रिलिज हुने भएको हो।
विवाद मिलेसँगै 'एक्टरः टेक वन' को निर्माणपक्षले पत्रकार सम्मेलन गर्दै फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउने जानकारी दिएको छ।
गत माघ ४ मा रिलिज फिल्म 'एक्टर' का निर्माताले 'एक्टरः टेक वन' विरुद्ध प्रतिलिपि अधिकार बमोजिम कार्वाही गरि उचित क्षतिपूर्ति दिलाउन माग गर्दै अदालतमा रिट दायर गरेका थिए।
दायर रिटमा अदालतले फिल्मको प्रदर्शन तत्कालका लागि रोक्न भन्दै मंगलबार अन्तरकालिन आदेश दिएको थियो। त्योसँगै 'एक्टरः टेक वन' बुधबार रिलिज हुन सकेन्।
बिहीबार दुवै पक्षका निर्माताबीच सहमति जुटेसँगै फिल्म रिलिजको बाटो खुलेको हो। सहमतिमा 'एक्टर' का निर्माताले काठमाडौं जिल्ला अदालतमा रहेको विचाराधिन मुद्दा शुक्रबार फिर्ता लिने सहमति भएको छ।
बिहीबार दुई पक्षका निर्माताबीच सहमति जुटेसँगै चलचित्र विकास बोर्डले चलचित्र संघलाई पत्र लेख्दै फिल्मको प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको छ।
त्योसँगै केही हलले शो तय गर्दै अग्रिम टिकट बिक्री सुरू गरेका छन्।
क्युएफएक्सले दिउँसोदेखिका शो तय गर्दै बुकिङ खुलाएको छ। कतिपय हलले भने मुद्दा फिर्ता भएपछि मात्रै फिल्म चलाउने अडान राखेका छन्।
प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझी स्टारर 'एक्टरः टेक वन' राजन भुसालले निर्देशन गरेका हुन्। निर्माता थम्मन के. भण्डारी हुन्।