'मिस्टर एन्ड मिस नेसनल नेपाल' को चौथो संस्करणको घोषणा गरिएको छ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमबीच आगामी संस्करणको घोषणासहित अडिसनबारे जानकारी दिइयो।
सनुर्वी इन्टरनेसनल आयोजक रहेको प्रतियोगिताको अडिसन फेब्रुअरी १५ अर्थात फागुन ३ गतेदेखि सुरू हुनेछ।
मार्च २ सम्म चल्ने अडिसन काठमाडौँ उपत्यकासहित विराटनगर, पोखरा, इटहरी, चितवन, नेपालगन्ज र धनगढीमा हुनेछ। काठमाडौंमा हुने अडिसनमा मिस ग्लोबकी विजेता डायना समेत उपस्थित हुने जनाइएको छ।
आयोजक संस्थाका सञ्चालक तथा मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागेको बताए।
उनले भने, 'सन् २०२२ देखि हामीले यो प्रतियोगिता सुरूवात गरेका थियौं। चौथो संस्करणसम्म आइपुग्दा निकै खुसी लागिरहेको छ। यहाँसम्म जोडिनुभएका सम्पूर्णलाई धन्यवाद। हामीले लामो समयको लागि सोचेका छौं।'
यो प्रतियोगिताले वर्ल्ड युथ फेस्टिभलसँग सहकार्य गर्दै काभेपलाञ्चोकमा अन्तर्राष्ट्रिय स्तरको फेसन रनवे सो पनि गर्दै छ। जुन जलवायु परिवर्तनसम्बन्धी जनचेतनाका लागि हुने जनाइएको छ।
मिस्टर एन्ड मिस नेसनलभित्र ६ वटा अन्तर्राष्ट्रिय फ्रेन्चाइज छन्। मिस सुप्रा नेसनल, मिस ग्लोब नेपाल, मिस्टर सुप्रा नेसनल, मिस इन्टरकन्टिनेन्टल, मिस्टर इन्टरनेसनल, मिस्टर टुरिजम वर्ल्ड छन्।