प्रभास स्टारर दक्षिण भारतीय फिल्म 'बाहुबलीः द एपिक' यही शुक्रबार रिलिज हुँदैछ।
एसएस राजामौली निर्देशित यो फिल्मले 'बाहुबली' का अघिल्ला दुई संस्करणलाई एकै भागमा समेटेको छ। यो एउटा नौलो प्रयोग भएकाले दर्शकहरूले कसरी लिन्छन् भन्ने चासो पनि छ।
'बाहुबलीः द एपिक' को कुल प्रदर्शन अवधि (रनटाइम) ३ घण्टा ४५ मिनेट छ।
भारतीय संचारमाध्यमका अनुसार फिल्मको पहिलो हाफ १ घण्टा ४२ मिनेट ३३ सेकेन्ड लामो छ। दोस्रो हाफ २ घण्टाभन्दा लामो छ। दोस्रो हाफको लम्बाइ २ घण्टा ३ मिनेट ११ सेकेन्ड छ। यसरी, फिल्मको कुल अवधि ३ घण्टा ४५ मिनेट ४४ सेकेन्ड रहेको छ।
'बाहुबलीः द बिगिनिङ' को प्रदर्शन अवधि १५९ मिनेट थियो भने 'बाहुबली २ः द कन्क्लुजन' १६७ मिनेट थियो। यसको अर्थ दुवै भागको कुल अवधि ३२६ मिनेट वा ५ घण्टा २६ मिनेट थियो।
प्रदर्शन अवधि लामो हुँदा फिल्मले शो कम पाउनेछ। 'बाहुबलीः द एपिक' हेर्न दर्शकहरूले कम्तिमा पनि सवा चार घण्टा छुट्याउनुपर्ने देखिन्छ।
नेपालमा पनि फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।