हिमाल न्यौपाने निर्देशित फिल्म 'जनै हराएको बाहुन' मा अभिनेता विजय बराल अनुबन्धित भएका छन्। यस फिल्ममा प्रमुख भूमिकाको लागि विजयलाई अनुबन्ध गरिएको निर्देशक न्यौपानेले बताए।
विजयले 'जनै हराएको बाहुन' को लागि लेखिएको स्क्रिप्ट मन परेर फिल्ममा जोडिएको प्रतिक्रिया दिए। फिल्मको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन्।
पेपरक्लिप प्रालिले बनाउन लागेको फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ। निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो फिल्मले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ।
फिल्मका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन्। फिल्ममा नवीन गुरुङ छायांकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन 'ज्याक' हुन् भने एसोसियट निर्देशक 'प्रेम गीत-३' का कलाकार मनिस राउत हुन्। भिएफक्स सुपरभाइजर मयंक निरौला रहेका छन्।
फिल्मका लागि अन्य कलाकार र प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायांकन सुरू गर्ने लक्ष्य राखिएको यो फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।
विजय अभिनीत 'पूर्णबहादुरको सारंगी' ले आइतबार बेलुका सक्सेस पार्टी आयोजना गरेर खुसीयाली साटदैछ। यो फिल्मले नेपालमा ५० करोडमाथिको व्यापार गरेको छ।
विजय अभिनीत अर्को फिल्म 'लाज शरणम्' महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शन हुने तयारीमा छ।