जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो 'नेपाल किड्स आइडल' हुने भएको छ।
जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए। 'हामी फागुनबाट अडिसन सुरू गर्छौ। माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं', उनले भने।
आयोजकका अनुसार शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन्। शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्न उपहार पाउनेछन्।
संस्थापक जय राजले शोको निर्णायक चाँडै सार्वजनिक गरिने बताए। उनका अनुसार २८ एपिसोड रहने शो नेपालको एक राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुनेछ।