दक्षिण एसियाली महिला कलाकारको नारीवादसम्बन्धी बृहत् कला प्रदर्शनी आयोजना हुने भएको छ।
यही जनवरी २५ देखि काठमाडौंमा सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना महिला कलाकारले आफ्ना सृजना प्रदर्शन गर्नेछन्।
कार्यक्रमका लागि कलाकारहरू काठमाडौं आइपुगेका छन्।
बिहीबार कलाकारहरूसहित राजधानीमा आयोजित पत्रकार सम्मेलनमा 'फेमिनिस्ट फ्युचरः आर्ट, एक्टिभिजम एण्ड साउथ एसियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने जानकारी दिइयो।
प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैंगिक राजनीति जस्ता विषय सम्बोधन गर्ने लोखन्डावाले बताइन्। प्रदर्शनीमा राखिएका सृजना सर्वसाधारणले तीन महिनासम्म अवलोकन गर्न सक्नेछन्।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ सांस्कृतिक केन्द्रमा हुने कार्यक्रम लोखन्डवालाको परिकल्पनामा आयोजना हुन लागेको हो।
‘म नेपालसँग लामो समयदेखि परिचित छु, यहाँको समाज र महिलाको अवस्थाबारे पनि केही जानकार छु, त्यसैले नेपालमा यस प्रकारको प्रदर्शनी आयोजना गर्न खोजिरहेकी थिएँ, धेरै वर्ष अगाडि आउँदा जीवित देवी कुमारीको दर्शनपछि यस विषयमा प्रदर्शनी गर्नुपर्छ भन्ने लागेको थियो,’ उनले भनिन्।
प्रदर्शनीमा भारतका चार, नेपालका तीन र श्रीलंका, पाकिस्तान र बंगलादेशका एक/एक महिला कलाकारका सृजना रहनेछन्।
आयोजकका अनुसार भारतीय कलाकारहरू अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा बिष्टसँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा रहनेछन्।
सबै कलाकारहरूले कलामार्फत् पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन्।