प्रकाश सपुत र परीक्षा लिम्बुको मुख्य अभिनय रहेको फिल्म 'सोल्टिनी' को टिजर सार्वजनिक गरिएको छ। कार्तिक ६ गते भाइटीकाको दिन रिलिज हुने यस फिल्मको टिजरमा मुख्य पात्रबीचको अन्तरजातीय प्रेम, ग्रामीण जीवनशैली र सामाजिक संघर्षलाई देखाइएको छ।
फिल्म अर्जुन सुवेदीले निर्देशन गरेका हुन्। यसमा प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरूङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय छ। फिल्ममा कार्यकारी निर्माताको रूपमा 'हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम' जोडिएको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरिरहेका छन्।
पूर्वका रमणीय स्थानमा छायांकन गरिएको 'सोल्टिनी' मा समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरूद्ध आवाज उठाउने सन्देश समेटिएको निर्देशक सुवेदीले बताए।
दुई प्रमुख पात्रबीचको प्रेमकथा यसकै मुख्य आकर्षण रहेको बताइएको छ। फिल्मको निर्मातामा रजिना विष्ट र संसार चौलागाईँ छन् भने सह–निर्माता रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी हुन्।
कथा र पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको रहेको फिल्मका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत छ। योलो इन्टरटेनमेन्टसँगको सहकार्यमा प्लानेट थ्रि फिल्म्सको प्रस्तुति रहेको ‘सोल्टिनी’ सुशन प्रजापतिले छायांकन, निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।