प्रतिष्ठित व्यवसायिक घराना गोल्छा समूहका शेखर गोल्छा तथा 'प्रिज्मा एड्भटाइजिङ' प्रमुखको संयुक्त स्वामित्वमा रहेको कम्पनी बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा फिल्म 'परान' निर्माणको औपचारिक घोषणा गरेको छ।
बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले 'परान' फिल्मको औपचारिक घोषणा गरेको हो। फिल्मलाई चर्चित हास्य टेलिशृंखला 'सक्किगोनी' का चर्चित 'काकु' पात्र निर्वाह गरेका दीपक आचार्यले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, नीर शाह, केकी अधिकारी, प्रविण खतिवडा, बुद्धि तामाङ, महेश त्रिपाठी, अञ्जना बराइली, पूजा चन्द, सुभाष गजुरेल, यमन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।
यस्तै फिल्ममा बालकलाकारका रूपमा निर्देशक आचार्यका कान्छा छोरा आर्यदीप आचार्यसमेतको अभिनय रहनेछ।
फाल्गुनको पहिलो साताबाट फिल्म फ्लोरमा जानेछ। फिल्मको छायांकन काठमाडौं तथा धनकुटामा हुनेछ।
फिल्म घोषणा कार्यक्रममा बोल्दै शेखर गोल्छाले उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा जिल्ला-जिल्लामा हुने महोत्सवहरूमा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रममा नेपालीपन नदेख्दा त्यस्ता कार्यक्रममा जानु नपरे हुन्थ्यो जस्तो लाग्ने गरेको र सोही प्रकारको सन्देश आयोजकहरूलाई दिने गरेको प्रसंग सुनाउँदै फिल्म निर्माण गर्नु पछाडि नेपालीपन र संस्कृतिको समृद्धिका लागि रहेको बताए।
त्यसैगरी रञ्जित आचार्यले सन् २०१८ मै फिल्ममा आउने योजनासहित कम्पनी खडा गरे पनि तयारीका दौरान नै कोभिड महामारीका कारण काम सुरु गर्न नसकिएको बताउँदै, उपरान्त नेपालीपन बोकेको फिल्म बनाउने बताए।
'हामीले फिल्म निर्माण गर्ने भनेर २०१७ मै कम्पनी खडा गरेका थियौँ तर २०२४ मा प्रोजेक्ट अघि बढेको छ। अब निरन्तर नेपालीपन बोकेको फिल्म बनाउने छौँ,' आचार्यले भने।
कार्यक्रममा महानायक राजेश हमाल, वरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कलाकार दीपाश्री निरौला, निशा अधिकारी, दिनेश डिसी, अशोक शर्मा, कृष्ण मल्लको साथमा सौरभ ज्योति, गोल्डस्टार जुत्ताका उत्पादक किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा लगायत व्यवसायीहरूको उपस्थिति थियो।
बाइस्कोप सिनेमा प्रस्तुति भन्दै बन्न लागेको फिल्मलाई शिवराम श्रेष्ठले छायांकन गर्नेछन् भने मित्र देव गुरुङको संगीत तथा सुप्रिम पराजुलीको रंग संयोजन रहनेछ।