नेपाली फिल्म 'एक्टर: टेक वन' ले 'एक्टिङ कन्टेस्ट' घोषणा गरेको छ।
यस कन्टेस्टका एक जना विजेताले 'एक्टर: टेक वन' को निर्माण कम्पनी अधृत फिल्म्स प्रालिले निर्माण गर्ने आगामी फिल्ममा अभिनयको लागि अवसर प्राप्त गर्नेछन्।
यो कन्टेस्टमा विश्वभरका नेपालीहरूले सहभागिता जनाउन सक्नेछन्, जसको लागि फिल्म 'एक्टर: टेक वन' को टिजर, ट्रेलर वा गीतहरूको कुनै पनि भागमा कम्तीमा १ मिनेट लामो भिडिओ बनाई आफ्नो सोसल मिडिया ह्यान्डलमा पोस्ट गर्नुपर्ने हुन्छ। पोस्ट गर्दा यस फिल्मका ह्यान्डलहरू फेसबुकमा एक्टर नेपाली फिल्म, इन्स्टाग्राममा एक्टर द फिल्म र टिकटकमा एक्टर नेपाली फिल्मलाई ट्याग वा मेन्सन गर्नुपर्ने तथा ह्यासट्यागमा एक्टर माघ १६ लेख्नुपर्ने जनाइएको छ।
यो कन्टेस्टमा सहभागीले नियमपूर्वक पोस्ट गरेका भिडिओलाई फिल्मको आन्तरिक सृजनात्मक टिमले मूल्यांकन गरी विजेता घोषणा गरिने बताइएको छ। यो कन्टेस्टको समयावधि फिल्म रिलिजको दोस्रो हप्ता (माघ ३०) गतेसम्म रहने छ। यस कन्टेस्टको लागि 'एक्टर: टेक वन' का कलाकार प्रदिप खड्काले विजेता घोषणा गर्नेछन्।
हालै सार्वजनिक भएको ट्रेलरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको फिल्म युनिटले कलाकार हुन चाहने नयाँ र प्रतिभावान् व्यक्तिलाई अवसर प्रदान गर्ने उद्देश्य लिएको जनाएको छ।
राजन भुसाल निर्देशित फिल्ममा प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारको अभिनय छ। फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्।
अधृत फिल्म्स र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्ममा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन्।