भोलि शुक्रबारदेखि हलमा प्रदर्शनमा आउन लागेको फिल्म 'मिसिङ: केटी हराएको सूचना' को बुधबार प्रिमियर गरिएको छ।
ललितपुरको लबिम मलमा गरिएको भव्य प्रिमियर शोमा फिल्मकर्मी, सञ्चारकर्मीको उपस्थिति रह्यो। प्रिमियरपछि फिल्म हेर्ने अधिकांश फिल्मकर्मीले फिल्मको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरे।
अभिनेता मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निर्देशक तथा अभिनेता निश्चल बस्नेत, निर्माता छविराज ओझालगायत हल पुगेका थिए।
अभिनेत्री प्रियंका कार्कीले आफूहरूले हेरिरहेको मूलधारका फिल्मभन्दा फरक रहेको बताइन्। अभिनेता आयुष्मान देशराज जोशीले नेपाली फिल्ममा चलिरहेको जनराभन्दा फरक जनराको फिल्म भएकाले राम्रो लागेको बताए।
निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको फिल्म हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए। उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा फिल्मको माध्यमबाट भनेको जनाए।
अभिनेत्री स्वस्तिमा खड्काले धेरै पछि एउटा फरक जनरा र फ्रेस कथाको फिल्म हेर्न पाएको बताइन्। अभिनेत्री दिया मास्केले एकदमै सामान्य, फ्रेस र आफूलाई मनपर्ने तरिकाले बनाएको फिल्म भनि प्रतिक्रिया दिइन्। डिसिएनका अशोक शर्माले फिल्ममा दर्शकले नयाँ स्वाद पाउने बताए। अभिनेत्री केकी अधिकारीले आफूलाई यस्तो कथाको फिल्म हेर्न एकदमै मनपर्ने बताइन्।
अभिनेत्री मिरुना मगरले सृष्टिको काम देखेर आफू खुशी भएको बताइन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। फिल्ममा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।
फिल्ममा नाजिर हुसेज, सृष्टि श्रेष्ठ, सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ।
तस्बिरहरूः सुरेन्द्र थापा