एमटीभीको चर्चित भारतीय रियालिटी शो 'स्प्लिट्सभिल्ला' सिजन ५ बाट चिनिएकी दीकिला शेर्पाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ।
उनी हालसालै फिल्म 'कुस्ती' मा अनुबन्धित भएकी छन्। उनले फिल्मको निर्माण टिमसँग सम्झौता गर्दै वर्कसपमा पनि जोडिइसकेकी छन्।
आउँदो फागुनको पहिलो सातादेखि छायांकनमा जाने फिल्ममा दीकिलाको भूमिका महत्वपूर्ण हुने निर्देशक तथा लेखक अनिल योञ्जनले जानकारी दिए।
उनले भने, 'हामीलाई एउटा फ्रेस अनुहार चाहिएको थियो। दीकिलालाई भूमिका सुहाउँदो भएपछि अफर गरेका हौं। उहाँले सम्झौता गरेर वर्कसपमा हुनुहुन्छ।'
यो फिल्मलाई अभिनेता बुद्धि तामाङले निर्माण गर्न लागेका हुन्। उनीसँगै अनिल योञ्जनको निर्माण रहने फिल्म आउँदो वर्षको भदौमा प्रदर्शनमा आउने जनाइएको छ।
दीकिलाले वर्कसपले आफूमा छुट्टै उत्साह थपेको बताइन।
उनले भनिन्,'यो मेरो पहिलो फिल्म भएकाले निकै उत्साहित छु। मलाई सुहाउँदो भूमिका, मैले मन पराउने सिनियर कलाकार, भद्र र सालिन टीमले मलाई अभिनेत्री बन्न प्रेरित गर्यो। म आफूले धेरै मेहनत गरेर सक्दो बेस्ट दिने कोसिस गर्ने छु। मैले पाएको मायालाई बढाउने काम फिल्ममा गर्ने छु।'
दीकिलाले एकदेव लिम्बुको गीत 'झिम झिमाउने आँखा' मा मोडलिङ गरेकी छन्। त्यस्तै, उनी रोहित अधिकारीको फिल्म 'माइतीघर' मा पनि जोडिएकी छिन्।
'कुस्ती' फिल्मको कुरा गर्दा, यसमा धिरज मगर र मिरूना मगर पहिलोपटक स्क्रिन जोडी बनेर प्रस्तुत हुँदैछन्।
अनुषा सिनेमावुड पिक्चर्स प्रा.लि.को ब्यानरमा बन्ने फिल्म 'कुस्ती' छुट्टिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको प्रेम कथामा आधारित रहने निर्देशक योञ्जनले बताए।