हरेक वर्ष आयोजना हुँदै आएको 'नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल' को छैटौं संस्करण माघ १७ गतेदेखि काठमाडौंमा आयोजना हुने भएको छ।
माघ १९ गतेसम्म चल्ने फेस्टिभलमा ४७ देशका ९८ वटा फिल्महरू चयन गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
विश्वभरिका सांस्कृतिक फिल्मको प्रवद्र्धनका लागि हरेक वर्ष नेपालमा आयोजना फेस्टिभलका लागि यसपटक ६० देशका चार सयभन्दा बढी फिल्मको आवेदन परेको थियो।
'हामीलाई प्राप्त करिब ४ सय वटा फिल्मलाई प्रारम्भिक फिल्म चयन समूहले करिब डेढ महिना लगाएर हेरेपछि ९८ वटा फिल्महरू चयन गरेको छ। फेस्टिभलमा लघु फिल्मसंगै कथानक फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्मलगायत महिला, बालबालिका, मानव अधिकारका फिल्महरू पनि प्रतिस्पर्धामा समावेश गरिएका छन्। दुई मिनेटदेखि साढे दुई घण्टासम्मको फिल्म फेस्टिभलको लागि चयन भएको छ,' महोत्सव आयोजक संस्था नेपाल चलचित्र तथा संस्कृति केन्द्रका अध्यक्ष सन्तोष सुवेदीले भने।
फेस्टिभलको लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय जुरी चयन गरिएको छ। जसमा भारतबाट फिल्म निर्देशक निपोन धौला, जर्मनी फिल्मकर्मी फाविन मात्थियस र फिल्मकर्मी इभिन बिराजी, बेलायतबाट फिल्म लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट फिल्म निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराइनबाट फिल्म निर्माता निर्देशक एवम् लेखक इभा दाउद र रुसबाट फिल्मकर्मी इरिना बेराजी रहेका छन्।
नेपालबाट निर्णायकको रूपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बास्कोटा, अभिनेत्री मिथिला शर्मा, फिल्म निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का, टेलिभिजनकर्मी टीकाराम यात्री, अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक विक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन्।
फेस्टिभलमा दक्षिण एसियाली मुलुकहरू भारत, बंगलादेश, पाकिस्तानसहित पूर्वी एसियाको चीन, जापान, थाइल्यान्ड, कोरिया, युएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, भियतनाम जस्ता देशका फिल्महरू चयन भएका छन्।
यस्तै संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, आयरल्यान्ड, जर्मनी, रसिया, ट्युनेशिया, पोर्चुगल, पोल्यान्ड, हङ्गेरी, ग्रिस, फिनल्यान्ड, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिक, अस्ट्रियासहित विभिन्न युरोपियन मुलुकका फिल्म चयन भएका छन्।
यस्तै मोरक्को, इजिप्ट, जमैका, क्यामरुन, सर्भिया, दक्षिण अफ्रिकासहित विभिन्न अफ्रिकन देशका फिल्म पनि फाइनलको लागि चयन गरिएको छ।
फेस्टिभलमा फिल्म प्रदर्शनसँगै फिल्मको विषयमा अन्तरक्रिया, मास्टर क्लास, कार्यशालाका साथै कला प्रदर्शनीसमेत रहेको छ। उद्घाटन समारोह काठमाडौंको दरबारमार्गस्थित क्युएफएक्स सिनेमा राईजिङ मलमा आयोजना गरिनेछ।
उद्घाटनपछि सोही हलमा दुई दिनसम्म नियमित रूपमा फिल्म प्रदर्शनीका साथै फिल्मका विविध विषयमा छलफल एवम् अन्तरक्रिया गरिनेछ। त्यसपछि चलचित्र विकास बोर्डमा तीन दिनसम्म फिल्म प्रदर्शनी, मास्टर क्लास, र कला प्रदर्शनी आयोजनासहित बोर्डमै महोत्सवको समापन समारोह गरिनेछ।
महोत्सवमा चयन भएका फिल्महरूले उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघु फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्म, महिलाप्रधान फिल्म, बालबालिका फिल्म, मानव अधिकारका फिल्म जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन्।
यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका फिल्म तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ।
विभिन्न फरक फरक विधाका उत्कृष्ट १५ वटा राष्ट्रिय तथा १५ वटा अन्तर्राष्ट्रिय गरी ३० फिल्महरूलाई पुरस्कृत गरिनेछ। फिल्म क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई सम्मान समेत गरिनेछ।