गायक प्रकाश सपुत यतिबेला फिल्म अभिनेता तथा निर्देशक बनिसकेका छन्।
उनको निर्देशनमा बनेको फिल्म 'वसन्त' चैत २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्ममा प्रकाश र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन्। फिल्ममा अभिनय गरेका कतिपय कलाकारहरूबारे जानकारी दिइएको छैन।
यसैबीच, फिल्ममा गायिका शान्तिश्री परियार र मोडल अञ्जली अधिकारीलाई पनि दर्शकले देख्न पाउने भएका छन्।
प्रकाश, शान्तिश्री र अञ्जली एकै-एकै समयदेखि लोकदोहोरीमा चम्किएका कलाकारहरू हुन्।
७ वर्षअघि सार्वजनिक 'बोलमाया' बोलको गीतबाट उनीहरू एकाएक चर्चामा आएका थिए। त्यसपछि उनीहरूको सहकार्य रहेको 'गलबन्दी' गीतले निकै चर्चा पायो। त्यसयता उनीहरूले निरन्तर सहकार्य गर्दै आए।
शान्तिश्रीको गीत 'अरेली काँडैले' मा पनि तीनजनाको सहकार्य छ। यतिबेला प्रकाशले आफ्नो फिल्म 'वसन्त' पनि शान्तिश्री र अञ्जलीलाई जोडेका हुन्।
टिकटकमा सार्वजनिक एक भिडिओबाट उनीहरूलाई फिल्ममा संगै देख्न पाइने अनुमान गर्न सकिन्छ।
'वसन्त' कै कलाकार खडकबहादुर पुन (खबपु) ले टिकटकमा एक भिडिओ पोस्ट गरेका छन्। जसमा गामबेशी दोहोरी साँझको दृश्य छ। भिडिओमा प्रकाशसहित शान्तिश्री र अञ्जलीलाई देखिन्छ। यसबाट फिल्ममा दोहोरी साँझको दृश्यमा उनीहरूलाई एकसाथ देख्न पाइने बुझन् सकिन्छ।
'वसन्त' को गीत 'साँझ पर्यो झमक्क' मा पनि प्रकाश र शान्तिश्रीकै स्वर छ। फिल्ममा प्रकाश र स्वस्तिमा खड्कासहित प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्री लगायतको अभिनय छ।
गलबन्दी प्रोडक्सनबाट बनेको वसन्तको कथा र संगीत पनि प्रकाशकै हो। फिल्मको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन्।
कार्यकारी निर्मातामा बिरेन्द्र नारायण श्रेष्ठ, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ। प्रोजेक्ट हेड दिल शिरीष हुन्।
चैते दसैंको अवसर पारेर फिल्म रिलिजमा आउनेछ।