क्यानडामा 'अब हाँस्छ अनि नाच्छ क्यानडा' नामक लाइभ शो हुने भएको छ।
आँगन इभेन्टस् र आई र यू इन्टरटेनमेन्टको संयुक्त प्रस्तुतिमा क्यानडाका विभिन्न सहरमा कार्यक्रम हुन लागेको हो।
आगामी जुन र जुलाई महिनामा क्यानडाका विभिन्न सहरमा शो हुने आयोजकमध्येका एक जीआर भण्डारीले जानकारी दिए।
उनले भने, 'हामीले विभिन्न कार्यक्रम पश्चात यो शो भव्य रुपमा गर्न लागेका छौं। यहाँका नेपालीले डिमाण्ड गर्नुभएका कलाकारलाई लिएर शो गर्न लागेका हौं। यो शोमा हाँस्ने र नाच्ने हो।'
नेपालीको चाप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ। 'अब हाँस्छ अनि नाच्छ क्यानडा' मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङग्य र मोडल करिश्मा ढकालको नृत्य प्रस्तुति रहने आयोजकको भनाइ छ। क्यानडाको टोरन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका सहरमा कार्यक्रम हुने जनाइएको छ।
क्यानडा प्रस्तुतिलाई कलाकार कलाकारहरू पनि उत्साहित छन्।
कमेडियन सुमन कार्कीले भने, 'क्यानडामा पहिलोपटक प्रस्तुती दिन लागेको हुँ। त्यहाँका लागि हामीले फरक रूपमा आफ्नो तयारी गरिरहेका छौँ। क्यानडामा नेपाली कार्यक्रम बढिरहेको सन्दर्भमा हामीले प्रस्तुती दिन पाउनु हाम्रो लागि सुखद् हो। हामी दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुतिको तयारी गरिरहेका छौं।'
अमेरिका, युके र युरोपमा आफ्नो प्रस्तुती दिइसकेका कार्कीले यसपटकका लागि विशेष तयारी गरिरहेको बताए।
कार्यक्रमले नेपालीलाई मनोरञ्जनसहित नेपालमै रहेको आभाष दिलाउने उनले विश्वास लिएका छन्।
आई र यु इन्टरटेनमेन्टमार्फत निश्चल पौडेल र आगन इभेन्ट्समार्फत जिआर भण्डारीले क्यानडामा नेपाली कला र संस्कृति झल्किने विभिन्न कार्यक्रम गर्दै आएका छन्।
उनीहरूले विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' क्यानडामा नेपालकै मितिमा प्रदर्शन गर्ने तयारी गरेका छन्।