म्युजिक भिडिओमा रूचाइएका र खोजिएका कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले फिल्मको गीत कोरियोग्राफीमा डेब्यु गरेका छन्।
प्रकाश सपुतको फिल्म 'वसन्त' मार्फत उनले कोरियोग्राफरका रूपमा फिल्ममा पाइला चालेका हुन्।
फिल्मको केही दिनअघि सार्वजनिक गीत 'साँझ पर्यो झमक्क' मा मौसमको कोरियोग्राफी छ। यो गीतमा उनले प्रकाश सपुत र स्वस्तिमा खड्कालाई नचाएका छन्। फिल्मको गीतबाट पनि मौसमले आफ्नो कामको तारिफ पाएका छन्।
उनलाई ठूलो पर्दामा काम देखाउन पाए हुन्थ्यो भन्ने पहिल्यैदेखि लाग्थ्यो। ‘वसन्त’ मा जोडिएर काम गर्दै गर्दा उनले यसलाई अवसर र चुनौती दुवै हिसावले लिए।
यो पनिः पहिले कलाकारका पछाडि नाच्थे, अहिले उनीहरूलाई नचाउँछन्
'पहिलो पटक फिल्ममा आफ्नो काम देखिँदैछ भन्नेमा उत्साह थियो। यद्यपि कसरी नयाँ गर्ने, कसरी राम्रो गर्ने भन्नेमा चुनौती पनि थियो,' उनले भने, 'प्रकाश दाई आफै पनि भिडिओको काम बुझ्नुभएको त्यसमाथि उहाँसँग यसअघि पनि धेरै सहकार्य भइसकेको थियो। उहाँले मेरो काम गर्ने तरिका बुझनुभएकाले पनि छलफल गर्दै काम गर्न सहज भयो।'
यो फिल्मको कामपछि मौसमले अर्को फिल्म 'रिमै' मा समेत कोरियोग्राफी गरिसकेका छन्। यसमा उनले दयाहाङ राई, रिश्मा गुरूङ, अर्पण थापा लगायतलाई नचाएका छन्।
यसपछि उनी अर्को फिल्म 'सोल्टिनी' मा समेत कोरियोग्राफी गर्दैछन्।
'फिल्ममा पनि आफ्नो काम देखाउने अवसर पाउँदा एकदमै खुसी छु। आगामी फिल्ममा पनि सक्दो मेहनत गर्नेछु,' उनले भने।
मौसमले कोरियोग्राफी तथा निर्देशन रहेको 'रिमै', 'कश्मिरे पछ्यौरी', 'ए होर माया', 'ए आमा जाम भन्यो मलाई', 'कहाँको साइनो' जस्ता गीतहरू सुपरहिट छन्।
त्यस्तै, कोरियोग्राफी रहेका 'डाँडाघरे साइँली', 'आइनँ आमा यो तीजमा' लगायतका थुप्रै गीत रूचाइएका छन्।