तारागाउँ सांस्कृतिक केन्द्रले साराफ फाउन्डेसनको सहकार्यमा काठमाडौंको बौद्धस्थित तारागाउँ नेक्स्टमा बृहत् कला प्रदर्शनी आयोजना गर्ने भएको छ।
जनवरी २५ देखि सुरू हुने प्रदर्शनीमा दक्षिण एसियाका दश जना उत्कृष्ट महिला कलाकारहरूले आ-आफ्ना सिर्जना प्रस्तुत गर्नेछन्।
डा. अर्शिया लोखन्डवालाको परिकल्पनामा हुने 'फेमिनिस्ट फ्युचर: आर्ट, एक्टिभिजम र साउथ एसियन वुमनहुड' नामक प्रदर्शनीले दक्षिण एसियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने आयोजकको भनाइ छ।
दुई दिनसम्म चल्ने प्रदर्शनीले पितृसत्तात्मक संरचना, उपनिवेशकालीन धरोहर र लैंगिक राजनीति जस्ता विषय समेत सम्बोधन गर्ने जनाइएको छ।
प्रदर्शनीको औपचारिक उद्घाटनअघि जनवरी २३ मा 'डिकोलोनाइजिङ द फेमिन: आर्ट, एजेन्सी एण्ड जेन्डर्ड पोलिटिक्स इन साउथ एसिया' शीर्षकमा छलफल समेत आयोजना गरिएको छ।
प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलंका, पाकिस्तान र बंगलादेशका १/१ जना महिला कलाकारका सिर्जना समावेश गरिनेछ। आयोजकका अनुसार भारतबाट अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला एन सहभागी हुनेछन्।
त्यस्तै, नेपालका अश्मिना रञ्जित, बिधाता केसी र उमा बिष्टासँगै श्रीलंकाकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बंगलादेशकी तायबा बेगम लिपीका सिर्जना प्रदर्शनीमा राखिने छन्। सबै कलाकारहरूले पारम्परिक लैंगिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाहरूको प्रभाव उजागर गर्नेछन्।
प्रदर्शनीले लिंग र शक्ति जस्ता महत्त्वपूर्ण प्रश्नहरूसँग संवाद गर्नका लागि एक महत्त्वपूर्ण मञ्च प्रदान गर्ने डॉ. लोखंडवालाको भनाइ छ।
'प्रदर्शनीले दक्षिण एसियाली महिला कलाकारहरूको लचिलोपन र शक्तिलाई उजागर गर्छ जसले गहिरो रूपमा बसेका पितृसत्तात्मक संरचनाहरूको विरोध गर्दै आफ्नो कलामार्फत सोचमा परिवर्तन ल्याउन बाध्य बनाएका छन्,' उनले भनिन्।
नेपालको महिला अधिकारसँग सम्बन्धित मुद्दालाई दक्षिण एसियाली देशका महिला अधिकारका विषयसँग सम्बन्धित संघर्षहरूसँग जोड्ने प्रयास स्वरूप प्रदर्शनी आयोजना गरिएको सराफ फाउन्डेसन तथा तारागाउँ नेक्स्टकी संस्थापक निर्देशक नमिता साराफको भनाइ छ।
'प्रदर्शनीमार्फत हामीले भारत, पाकिस्तान, श्रीलंका, र बंगलादेशका महिलाहरूको संघर्षसँगै नेपाली महिलाहरूका समस्यालाई प्रकाशमा ल्याउन चाहन्छौं,' उनले भनिन्।
प्रदर्शनीले महिलाको सम्मानसँगै दमनका गर्ने दक्षिण एसियाली समाजको गहिरो र जटिल संरचनाहरूको विश्लेषण गर्ने जनाइएको छ।
प्रदर्शनीमा विभिन्न समकालीन मुद्दाहरूलाई अन्वेषण गर्ने सिर्जनाहरू समेत समावेश छन्। पुष्पमाला एनको 'अभेगा- द प्यासन (२०१२)' ले रामायणका महिलाका पात्रहरूको पारम्परिक चित्रणलाई चुनौती दिँदै उनीहरूको सशक्त पक्षबारे उजागर गर्नेछ।
अश्मिना रञ्जितको 'सीता! द आइडिएल वाइफ (२०२५)' ले महिलाको अधिकार र स्वतन्त्रता खोस्ने हिन्दू परम्पराअनुसारको विवाहमा गरिने 'कन्यादान' प्रथाको आलोचना गर्छ।
त्यस्तै, तायबा बेगम लिपीले आफ्ना सिर्जनामा विवाहको जटिलता र हिंसात्मक प्रवृत्तिलाई चित्रित गर्दैछन्। उमा बिष्टले छाउपडी प्रथा र कुमारी परम्पराको आलोचना गर्दै नेपाली महिलाका संघर्षलाई प्रस्तुत गर्ने जनाइएको छ।
प्रदर्शनीको औपचारिक उद्घाटनका दिन कलाकार अश्मिना रञ्जितको विशेष प्रस्तुति रहनेछ भने जनवरी २५ का दिन ३ बजे कलाकारहररूले दर्शकहरूलाई आफ्ना कार्य र सिर्जनात्मकताबारे अनुभव सुनाउने आयोजकले जनाएको छ।