यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'मिसिङः केटी हराएको सूचना' को चार दिन अगावै टिकट बुकिङ खुलाइएको छ।
नेपालको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले शो तालिका सार्वजनिक गर्दै बुकिङ खुलाएको हो।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ अभिनीत यो फिल्मलाई क्युएफएक्सले काठमाडौंमा २५ र काठमाडौंबाहिर ३५ गरी ६० शो दिएको छ। फिल्मले पाएको यो शो उत्साहजनक हो।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै ब्यानरमा निर्माण भएको हो। फिल्म दीपेन्द्र गौचनले लेखन तथा निर्देशन गरेका हुन्।
फिल्ममा नाजिर, सृष्टिसहित सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण लगायतको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिकामा छन्।
फिल्मको निर्माता दीपेन्द्र गौचन स्वयं हुन्। कार्यकारी निर्मातामा नकिम उद्दिन र किरणभक्त जोशी छन्। अमर महर्जनको डीओपी रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन छ।
पहाडी–मधेसी सम्बन्ध र तराई क्षेत्रको सौन्दर्य र संस्कृतिको पृष्ठभूमिमा रहेर फिल्म बनेको हो। यसले पहाडी–मधेसी मेलमिलापलाई समेत देखाएको छ।
फिल्म एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।