ज्योतिराज राईको निर्माणमा बन्न लागेको फिल्म 'नाक्छोङ' (विजुवा) को छायांकन सुरू भएको छ।
बिहीबार मोरङको बेलाबारीमा शुभ-मुर्हूत गर्दै फिल्मको छायांकन सुरू गरिएको हो। फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तरिकाबाट गरिएको थियो। मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजाससहित पुर्खाहरू सम्झदै फिल्मको मुर्हूत गरेका थिए। मुर्हूत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्स, बेलाबारी नगरपालिका वडा नं ११ का वडाध्यक्ष विक्रम वान्तवालगायत स्थानीय कलाकर्मी थुप्रैको उपस्थिती थियो।
कार्यक्रममा कलाकार याशेली योङ्हाङ र हेम दिलुङ्छाले मुर्हूत सट दिँदा त्यसको निर्देशक नविन सुब्बा, क्यामरा रोल वडाध्यक्ष विक्रम वान्तवा र क्ल्याप मिलन चाम्सले पड्काएका थिए।
मुर्हूतपछि बोल्दै निर्देशक नविन सुब्बाले राई जातीहरूको कथा, संस्कृति फिल्ममा कम आएको बताउँदै यस क्षेत्रसँग सम्बन्धित निर्देशकले आफ्नै त्यस्ता विषयबस्तुमा जोड दिनुपर्ने बताए। फिल्म 'गाउँ आएको बाटो' मा आफूले राईको कथा केही देखाउन खोजेपनी त्यो पर्याप्त नभएको सुब्बाको भनाई थियो।
निर्देशक मिलन चाम्सले 'नाक्छोङ' को सुरूआत पितृहरूको सम्मान र सम्झनासहित सुरू भएकोले इतिहास रच्ने फिल्म बनोस् भन्दै शुभकामना दिए। उनले 'नाक्छोङ' जस्ता फिल्मले स्वदेशीको अलवा अन्तर्राष्ट्रिय बजारमा समेत प्रभाव जमाउन तागत राखे बताए।
'नाक्छोङ' का निर्माता ज्योतीराजले कार्यक्रममा सहभागी सबैप्रति आभार व्यक्त गर्दै 'नाक्छोङ' विजुवाको निर्माणको औचित्य राईको परम्परा जोगाएर पुस्तान्तरण गर्न रहेको बताए। हरेक चाड, विवाह, कुलपितृ, रीतिभेषभूषामा आवस्यक विजुवाको संरक्षणका लागि फिल्म निर्माण गर्न लागेको बताए। 'नाक्छोङ' स्वदेशीको अलवा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको लागि निर्माण हुन लागेको खुलाए। उनले भने, 'अहिलेसम्मको अनुभव खन्याएर फिल्म उत्कृष्ट बनाउनेछु।'
किरण राईले निर्देशन गर्ने फिल्ममा याशेली योङ्हाङ, भुवन सिंह राई, सुस्मा सुब्बा, सरोज खालिङ, बबिन राई, अनुशा राई, सारा राई, त्रिचु राई, उत्तम राई, तयाहाङ राई, उदय सुब्बा कुरुम्बाङ, पूर्ण लिम्बु, दिनेश कोइराला, हेम दिलुङ्छा, विनोद पोमो, प्रकाश सुब्बालगायत कलाकारको अभिनय रहनेछ। किरणले यसअघि ‘लुङा’ र ज्यापंचौ’ निर्देशन गरेका थिए। फिल्मको लेखन समेत किरणले गरेका हुन्।
फिल्मको छायांकन काठमाडौं, विराटनगर, मोरङलगायत पूर्वका विभिन्न स्थानमा हुनेछ।फिल्मलाई बाबु श्रेष्ठले छायांकन गर्नेछन्। फिल्मका मुख्य सहायक निर्देशक बारत लिम्बु रहेका छन्।