फिल्म ‘ल्हो-छाम्पा’ निर्माण हुने भएको छ।
सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा फिल्म निर्माण हुने भएको हो।
भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्धन्द्धलाई फिल्मले प्रस्तुत गर्ने जनाइएको छ। 'ल्हो-छाम्पा' भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो।
फिल्मलाई नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन्।
तेस्रो देश पुनर्वासका क्रममा हाल अमेरिकामा रहेका सुवेदीले नक्षत्र फाउन्डेसन र नक्षत्र लाइभ म्युजिक मार्फत् नेपाली गीत संगीत र कलाका विविध विधामा काम गरिरहेका छन्।
निर्माता सुवेदीले आफूले भोगेको कालबेलालाई आउँदा पुस्तालाई दस्तावेजीकरण गर्ने उद्देश्यका साथ फिल्म निर्माणमा अग्रसर भएको बताएका छन्।
'भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो कुरा पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो चलत्रि निर्माण गरेका हौं। तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौं,' सुवेदीको भनाइ छ।
फिल्मलाई नरेशकुमार केसीले निर्देशन गर्नेछन्। उनको यो तेस्रो निर्देशकीय फिल्म हुनेछ। नरेशले यसअघि 'डाइङ क्यान्डल' र 'रोमियो एन्ड मुना' गरी दुई फिल्म निर्देशन गरेका छन्। उनले फिल्मले मान्छेको स्मृतिदंश र पहिचानबिनाको अवस्थालाई प्रस्तुत गर्ने बताए।
'मानिस जहाँ गए पनि उसलाई उसको स्मृतिले पछ्याइरहन्छ। यो फिल्मले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ। सँगसँगै कथाले आप्रवासनका आयामलाई पनि समेट्ने छ,' उनले भने।
फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा रहनेछ। त्यस्तै, अर्जुन पोखरेलको संगीत रहनेछ। संगीतकार पोखरेलले फिल्ममा कथासँग जोडिएर आउने गरी गीत तयार गरिने जानकारी गराए। फिल्मका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ।
निर्माता सुवेदीले केही दिनमै कलाकार र प्राविधिकको नाम सार्वजनिक गर्ने जानकारी गराए। फिल्मको छायांकन बैशाखको दोस्रो हप्तादेखि गरिने बताइएको छ।