भारतीय कलाकार सैफ अली खानमाथि उनकै घरमा छिरेर एक सन्दिग्धले छुरा प्रहार गरेका छन्।
गएराति साढे २ बजे मुम्बईको बान्द्रास्थित सैफ अली खानको घरमै प्रवेश गरेका एक सन्दिग्धले खानमाथि छुरा प्रहार गरी भागेका थिए।
भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार सैफलाई चोटग्रस्त अवस्थामा बिहान साढे ३ बजे लिलावती अस्पताल पुर्याइएको थियो।
अस्पतालका सिओओ डा.निरज उत्तमानीले सैफको जिउमा ६ वटा चोट रहेको बताएका छन्। तीमध्ये दुइटा चोट गहिरो रहेको डा. निरजले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
एउटा चोट घाँटीनजिक र अर्को चोट मेरूदण्ड नजिक रहेको उनले बताएका छन्। सैफको उपचारमा तीन जना चिकित्सक खटिएका छन्। बिहान साढे ५ बजेदेखि उनको उपचार भइरहेको बताइएको छ।
उपचारमै खटिएका एक डाक्टरले सैफको जिउभित्र चक्कुको एक टुक्रा नै भेटिएको बताएका छन्।
मेरूदण्ड नजिकको चोट निकै गहिरो भएको र त्यहाँ १० वटा टाँका लगाइएको अर्का डाक्टरले भनेका छन्। यद्यपि सैफको मेरूदण्डमै असर भने नगरेको उनले बताएका छन्।
'छुरा प्रहारले कुनै पनि महत्त्वपूर्ण अंगलाई असर गरेको छैन। दुई चोट गहिरा छन्। दुई वटा मध्यम र दुई सतही चोट छ,' ती डाक्टरले हिन्दुस्तान टाइम्ससँग भनेका छन्।
घटना भएको समयमा सैफकी श्रीमती करिना कपुर घरमा थिइनन्। सैफ सहयोगी र दुई छोराहरूसँग घरमै थिए। करिना आफ्नी दिदी करिश्मासँग एक पार्टीमा रहेको भनिएको छ।
संदिग्ध घरमा प्रवेश गरेपछि सैफका सहयोगीले रोक्ने प्रयत्न गरेका थिए। त्यसपछि सैफ आफै ती संदिग्धलाई रोक्न जाँदा छुरा प्रहार गरेर भागेको भनिएको छ। त्यस क्रममा सैफ र ती सन्दिग्धबीच केहीबेर घम्साघम्सी भएको थियो।
ती व्यक्ति को थिए भन्ने खुलिसकेको छैन। बान्द्रा प्रहरी र करिनाका परिवारले ती व्यक्ति घरमा चोरी गर्ने मनसायले प्रवेश गरेको हुनसक्ने भनेका छन्।
घटनाको क्राइम ब्रान्च मुम्बईले समानान्तर रूपमा अनुसन्धान गरिरहेको छ।