फिल्म 'महाभोज' को शुभमुहूर्त गरिएको छ।
मंगलबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको टिमको सहभागितामा मुहूर्त पूजा गरिएको हो।
जहाँ फिल्मका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरूङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका साथमा प्राविधिक तथा निर्माण समूहको उपस्थिति रह्यो।
यो फिल्मको छायांकन पोखरा आसपासका क्षेत्रमा करिब २५ दिन हुनेछ। जसका लागि फिल्मको टिम बुधबार त्यसतर्फ जाने बताइएको छ।
'महाभोज' दिनेश राउतले निर्देशन गर्न लागेका हुन्। यो उनको आठौं फिल्म हुनेछ। उनले निर्देशन गरेको पछिल्लो फिल्म 'पुजार सार्की' गत जेठमा प्रदर्शनमा आएको थियो।
निर्देशक राउतले आफ्नो महत्वाकांक्षी प्रोजेक्टको रूपमा कलाकारहरूको बुलन्द लाइनअपसहित ‘महाभोज’ निर्देशन गर्न लागेका हुन्।
उनले यो फिल्मबारे भने, 'महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार बिरुद्धको हो। मैले यस फिल्ममार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शीता, र सामाजिक जागरणको महत्व देखाउने प्रयास गर्नेछु। देशमा भइरहेका प्रणालीबिहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ।'
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्माता यसअघि 'नाङ्गो गाउँ', 'दुखी आत्मा' जस्ता फिल्महरूको निर्माण गरेका हिमाल कडरिया हुन्।
कार्यकारी निर्मातामा किरण नेपाली र सुदिप ढकाल छन्। फिल्मलाई यसअघि 'प्रकाश' र 'पुजार सार्की' लेखेका विकास सुवेदीले लेखेका हुन्।
राजेश श्रेष्ठले खिच्ने फिल्म निमेष श्रेष्ठले सम्पादन गर्नेछन्।
काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा 'महाभोज' को वितरण गर्नेछन्।