अभिनेत्री सुरक्षा पन्तको प्रमुख अभिनय रहेको फिल्म 'खेल' बैशाख १२ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
आइतबार फिल्मको अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो।
यो फिल्मलाई बलिउडका दर्जन बढी फिल्ममा सह–निर्देशन गरेका अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशकको रूपमा कार्यरत आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका छन्। फिल्ममा सुरक्षा पन्तसहित हेना नगरकोटी, मोनिका थापा, समापिका गौतम र निकिता आचार्यको प्रमुख अभिनय छ।
रोयल भीमसेनले डिजाइन गरेको 'खेल' को सार्वजनिक पोस्टरमा शीर्ष कलाकारहरूलाई देखाइएको छ। अभिनेत्री सुरक्षा पन्त पोस्टरको केन्द्रमा छन्, जसले उनको चरित्रको महत्वलाई संकेत गर्छ। पोस्टरको पृष्ठभूमिमा देखिएको पाँच कोणीय तारा र अन्धकार वातावरणले फिल्म रहस्य, डर, वा थ्रिलर विधासँग सम्बन्धित रहेको देखाउँछ।
निर्माणपक्षका अनुसार नेपालको लोककथा, परम्परा र अध्यात्मलाई थ्रिलर र सस्पेन्स माहौलसँग जोडिएको कथा रहेको यो फिल्ममा चार जना साथीहरूको कथा रहेको छ, जसलाई आफ्नै विगतको एक भयानक घटनाले पछ्याइरहेको हुन्छ। उनीहरूले डरलाग्दा र अलौकिक घटनाहरूको सामना गर्नुपरेको हुन्छ। यसमा कुनै पनि खेललाई निष्ठापूर्वक नखेल्दा हाम्रो जीवनमा कस्तो हानी हुन्छ भन्ने दर्शाउन खोजिएको जनाइएको छ।
अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा काम गर्न पाउँदा खुसी लागेको बताइन्।
उनले फिल्मको कथाबारे भनिन्, 'अध्ययनको लागि काठमाडौँको होस्टेलमा बस्ने साथीहरूले अध्यात्ममा आधारित खेल खेल्दै गर्दा वास्तविक जीवनमा हानी पुगेपछि त्यसबाट उम्किनलाई पुनः खेल्ने खेल कथा हो। चार जना केटी साथीहरूको टिमको प्रमुखको रूपमा मैले काम गर्दै छु।'
निर्माता लुइसराज महर्जनले विश्वका ठूला फिल्म उद्योगहरूसँग प्रतिस्पर्धामा आउन सक्ने प्रविधिमा यो फिल्म तयार गरिएको बताए। उनका अनुसार क्यामेरा लेन्ससहित केही छायांकन सामग्रीहरू भारतबाट ल्याइएको थियो।
सिरूपाते कट्स प्रालिले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता लुइसराज महर्जन हुन् भने निर्माता आशिषराज महर्जन भने सह निर्माताहरू कुनालराज गुरुङ र रहिशराज महर्जन हुन्।
फिल्मको कथा आशिषराज महर्जनले तयार पारेका हुन्। पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् भने संवाद विष्णु गैरेले लेखेका छन्। छायांकन रोशन राई र सञ्जय लामाले गरेका हुन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन्।