फिल्म 'एक्टरः टेक वन' को जापान प्रदर्शनमा अभिनेता प्रदीप खड्का पनि सहभागी हुने भएका छन्।
फिल्मको जापान वितरक सचिन आचार्यले यसबारे जानकारी दिएका हुन्।
वितरक आचार्यका अनुसार प्रदीप विभिन्न सहरमा हुने प्रदर्शनमा सहभागी हुनेछन्। ५ फेब्रुअरीमा टोकियोको नाकानो जेरो हलमा जापान प्रदर्शन अन्तर्गतको पहिलो शो हुने तयारी छ।
प्रदीप टोकियो रिलिजपछि पश्चिम फुकाओमा जानेछन्। त्यहाँ फ्रेब्रुअरी ८ मा फिल्मको शो राखिएको छ। यसपश्चात फेब्रुअरी ९ मा नागोयामा शो राखिएको छ। यहाँको शो अलि विशेष हुने नागोया शोका प्रमुख श्याम सितलले बताए। उनका अनुसार त्यहाँ फरक खालको एक कार्यक्रम गर्ने समेत तयारी छ।
ओसाकामा भने फेब्रुअरी १० मा शो तय छ। यसबाहेक चिवाको शोमा पनि प्रदीप सहभागी हुने बताइएको छ। राजन भुसालको निर्देशनमा बनेको 'एक्टरः टेक वन' मा प्रदीपसहित आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सृजना अधिकारी, र सुशील सिटौला लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको स्क्रिप्ट आकाश बराल र राजन भुसालको सहकार्यमा तयार गरिएको हो। अदृत फिल्म्स् र मोती फिल्मको संयुक्त प्रस्तुति रहेको फिल्मको निर्माता थमन कुमार भण्डारी हुन्। क्रियटिभ निर्माता मोती कार्की र सह–निर्माता अनिश भुसाल छन्। फिल्म छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ।
फिल्म माघ १६ गतेदेखि प्रदर्शनमा आउँदैछ।