विपिन कार्की र मिरूना मगर अभिनीत फिल्म 'ऊनको स्वीटर' को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ।
प्याट्रिक सुवेदी र रमेश ढकाल नेतृत्वको कम्पनी सेभेन सिज इन्टरनेशनल फिल्मस्ले विदेश राइटस् खरिद गरेको हो। यो कम्पनीले अमेरिका, अस्ट्रेलिया, मध्यपूर्वसहित माल्टा र मलेसियाका लागि समेत अधिकार खरिद गरेको हो।
यस्तै, दक्षिण कोरियाका लागि 'पाँचथर सेवा समाज', क्यानडाका लागि 'एमजीपी इन्टरटेन्मेन्ट', 'आँगन इभेन्ट' र 'आई र यू इन्टरटेनमेन्ट' ले राइटस् खरिद गरेका छन् भने बेलायतबाहेक युरोपेली देशहरूमा 'मामा इभेन्ट्स' र 'गुरूङ केएनएस इन्टरटेनमेन्ट' र जापानमा 'सेवा एलएल कम्पनी' ले फिल्म प्रदर्शन गर्ने निर्देशक नवीन चौहानले बताए।
निर्देशक चौहानका अनुसार यी सबै देशहरूमा नेपालसँगै फिल्म रिलिज हुनेछ।
आर्टमाण्डु प्रालिको ब्यानरमा निर्माण भएको 'ऊनको स्वीटर' आउँदो वैशाख २६ गते रिलिज हुने तयारीमा छ।
फिल्ममा विपिन र मिरूनासहित सुनील पोखरेल, माओत्से गुरूङ, विल्सनविक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बू, सुरज तमू र भावना खपाङ्गी मगरको अभिनय छ।
फिल्मको १२ दिनअघि सार्वजनिक पहिलो गीत 'मखमली' ले युट्युबमा चर्चा पाइरहेको छ। यो गीत अहिले पनि युट्युब ट्रेन्डिङमा छ।