प्रकाश सपुत र परीक्षा लिम्बुको शीर्ष अभिनय रहने फिल्म 'सोल्टिनी' को मंगलबारदेखि छायांकन सुरू गरिएको छ।
इलामको रोङमा रहेको सानो पाथीभरा मन्दिरमा शुभमुहूर्तसँगै छायांकन सुरू गरिएको निर्देशक अर्जुन सुवेदीले बताए।
प्रकाश, परीक्षासहित अभिनेत्री सब्बु गुरूङ र कलाकार सुन्दर धितालले मन्दिर परिसरमा नै फिल्मको लागि पहिलो र महत्वपूर्ण सट दिएका थिए।
३१ दिनको तालिकासहित छायांकन सुरू गरिएको फिल्म इलाम तथा भोजपुरका रमणीय स्थानहरूमा खिचिनेछ। फिल्मलाई सुशन प्रजापतिले खिच्नेछन्।
यो फिल्ममा प्रकाश सपुत, विल्सन विक्रम राई, परीक्षा लिम्बु, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतको अभिनय रहनेछ। प्रकाशले 'भीमसेन पोखरेल' र परीक्षाले 'दिलासा राई' को भूमिका निभाउने जनाइएको छ। उनीहरू पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्।
फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावकाबिरूद्ध आवाज उठाउने जनाइएको छ। साथै, दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहने निर्माणपक्षले जनाएको छ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको फिल्मको निर्मातामा रेजिना बिस्ट र संसार चौलागाईं छन्।
फिल्म २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।