काठमाडौंमा पहिलोपटक 'चाइना फिल्म डे' आयोजना हुने भएको छ। ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा पुस २५ गते (जनवरी ९) मा उक्त कार्यक्रम आयोजना हुन लागेको हो।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा चाइन फिल्म डे आयोजना गरिएको हो।
दुई देशबीच आगामी दिनमा फिल्म निर्माण, प्रबर्धन र बजारिकरणमा सहकार्य हुने लक्ष्यका साथ कार्यक्रम गरिएको आयोजकको भनाइ छ।
कार्यक्रममा ३ चर्चित चिनियाँ फिल्म प्रदर्शन गरिनेछ।
प्रदर्शनपश्चात फिल्मका निर्माता, निर्देशक तथा कलाकारहरूसँगको अन्तरक्रियामा दर्शकले पनि सहभागिता जनाउन पाउनेछन्।
कार्यक्रममा नेपाली फिल्मका कलाकार, निर्देशक, प्राविधिक लगायतको उपस्थिति रहनेछ। साथै नेपालस्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका पदाधिकारीहरूले समेत कार्यक्रममा सहभागिता जनाउने जनाइएको छ। पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुनको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना हुनेछ।
फिल्म निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेशनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन। कार्यक्रमले दुई देशका फिल्मकर्मीहरूबीचको सहकार्यलाई अगाडि बढाउन थप मद्धत गर्ने अपेक्षा गरिएको छ।
'चाइना फिल्म डे' को महत्वबारे नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले यो केवल फिल्म प्रदर्शन गर्ने कार्यक्रम मात्र नभइ दुई देशको जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि भएको बताए।
उनले भने, 'यसले चिनियाँ फिल्महरूको सिर्जनशीलता र गहिराई प्रस्तुत गरेर, हामी नेपाली फिल्मकर्मीहरूलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्नेछ।'
'चाइना फिल्म डे' ले २०२५ र त्यसपछिका दिनहरूमा नेपाल–चीन सांस्कृतिक कूटनीति र फिल्म सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
प्रदर्शन हुने फिल्महरू
१.हर स्टोरी (१२३ मिनेट): निर्देशक- यीहुई साओ (उद्घाटन फिल्म)
२. मिडसमर्स भ्वाइस (१०५ मिनेट): निर्देशक- युडी झाङ
३. जीफर ग्याप (१०३ मिनेट): निर्देशक- फेईलङ