निर्माण घोषणादेखि चर्चामा रहेको फिल्म 'बलिदान' को निर्माणपक्षले फिल्मको छायांकनका लागि ४२ फिट अग्लो मूर्ति तयार पारेको छ।
फिल्मको कथाको माग अनुरूप कालीदेवीको मूर्ति तयार पारिएको निर्माणपक्षले केही तस्बिरहरू सार्वजनिक गर्दै जानकारी दिएको छ।
निर्देशक सन्तोष सेनका अनुसार अहिले मूर्ति राखिएको मोरङको सुन्दरहरैचा –५ नमुना सामुदायिक मैदानमा स्टेज लगाउँदै थुप्रै स्टल राखेर फिल्मको विशेष दृश्यहरू खिच्न लागिएको छ।
उनका अनुसार 'बलिदान' को छायांकन अन्तिम चरणमा छ। छायांकन सकिएपछि टिजरसहित फिल्मको रिलिज मिति औपचारिक रूपमा घोषणा गरिने उनको भनाइ छ।
यो फिल्मको एक्सन दृश्यहरूलाई थप रोमाञ्चक बनाउन दक्षिण भारतीय एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा ३० जनाको टोलीले काम गरेको छ।
आशुसेन फिल्म्स प्रा.ली.को प्रस्तुति रहेको यस फिल्मको निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने प्रेम पुरी सह–निर्माता हुन्।
फिल्ममा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायत कलाकारहरूको अभिनय छ।