दीपेन्द्र गौचन निर्देशित फिल्म 'मिसिङ: केटी हराएको सूचना' को गीत सार्वजनिक भएको छ।
शुक्रबार ललितपुरस्थित लबिम मलमा एक कार्यक्रम गर्दै फिल्ममा समावेशी 'सपनीमा' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।
गीतमा इन्दिरा जोशी र करण परियारको स्वर तथा करुण थापाको शब्द र संगीत छ। एकस्टिक नेपालका स्टुडियोमा रेकर्ड गरिएको गीतमा फणिन्द्र राईको एरेन्ज, प्रकाश मिश्रको एरेन्ज तथा दिल समर्पण र राजा बाबुको रेकर्डिङ छ।
कार्यक्रममा गायिका इन्दिराले फिल्मले तराईको पात्रलाई हिरोको रूपमा स्थापित गराएको भन्दै राम्रो कथावस्तुको फिल्ममा स्वर दिन पाएकोमा खुशी व्यक्त गरिन्। गायक करणले फिल्ममा पाश्र्व गायनको सपना 'मिसिङ: केटी हराएको सूचना' ले पूरा गरेको खुलाए।
गीतकार र संगीतकार करुणले फिल्मका निर्देशक दीपैन्द्र गौचन र आफू पुरानो साथी रहेकाले उनकै अनुरोधमा गीत लेखेको बताए।
निर्देशक दीपेन्द्र गौचनले संगीतप्रति आफ्नो लगाव पुरानै रहेकाले फिल्मको कथा सुहाउँदो गीत तयार पारिएको बताए। भिडिओका कोरियोग्राफर रामजी लामिछानेले निर्देशक र गीत लेखनमा कमव्याक गरेका दिग्गजसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्म ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो। फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रूपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्णलगायत कलाकारको अभिनय छ। फिल्ममा अमितेष शाह विशेष भूमिका छन्।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ।
फिल्ममा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करूण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी छ।
यो फिल्म माघ ११ गतेदेखि प्रदर्शन हुनेछ।