थुप्रै सुपरहिट फिल्म दिएका निर्देशक तुलसी घिमिरेले आफ्नो नयाँ फिल्मबाट छोरीलाई नेपाली रजतपटमा डेब्यु गराउने भएका छन्।
उनले आफ्नी कान्छी छोरी पञ्चमी घिमिरेलाई फिल्म 'पहाड' बाट डेब्यु गराउने भएका हुन्। केही दिनमा एक कार्यक्रमकाबीच फिल्मको औपचारिक घोषणा गर्ने तयारी छ।
पञ्चमीले यसअघि बुवाको निर्देशन रहेको फिल्म 'दर्पण छायाँ २' मा सहायक निर्देशक भएर काम गरेकी थिइन्। त्यस्तै, उनले भारतको टेलिसिरियल निर्माण कम्पनी बालाजी टेलिफिल्मसमा एसोसियट क्रियटिभ हेडको रूपमा समेत काम गरेकी थिइन्।
तुलसी घिमिरेले 'दर्पण छायाँ २' निर्देशनको ७ वर्षपछि 'पहाड' मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन्।
फिल्ममा मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारहरू यसअघि अनुबन्धित भइसकेका छन्।
फिल्मको छायांकन माघबाट सुरू गर्ने तयारी रहेको निर्देशक घिमिरेले जानकारी दिए।
'माघ ६ गतेदेखि फ्लोरमा जानेगरी तयारी गरेका छौं,' निर्देशक घिमिरेले भने। उनका अनुसार फिल्मको छायांकन गोरखा जिल्लामा हुनेछ।
बढ्दो बसाइँसराइले दिनदिनै रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म निर्माण हुन लागेको हो।