क्राइम थ्रिलर फिल्म '११ः५५' (डु नट ट्रस्ट एनिवान) को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माताले नयाँ वर्षको अवसर पारेर फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म चैत ८ गते रिलिज हुने घोषणा गरेका हुन्।
सार्वजनिक फर्स्टलुकमा फिल्मका मुख्य कलाकार महेश त्रिपाठी, सृष्टी श्रेष्ठ, करिष्मा श्रेष्ठ, एमएस अग्रज र डेब्यु अभिनेता सागर खनाल प्रस्तुत छन्। पोस्टरमा कलाकारहरूलाई बन्दुकको आकारभित्र प्रस्तुत गरिएको छ। सबै कलाकारको अनुहारमा रगत देखिन्छ।
फिल्मको लेखन तथा निर्देशन केशव पाण्डेले गरेका हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। फिल्ममा निर्देशक पाण्डेसंगै एमएस अग्रज र शेखर ज्ञवालीको लेखन छ।
बिचित्र फिल्मस् र गुड जब आट्र्सको ब्यानरमा निर्माण भएको फिल्ममा श्याम शर्मा र सरोजा शर्माको लगानी छ। फिल्ममा अभिनेता बुद्धि तामाङ र विशाल पहारीको पनि अभिनय दर्शकले हेर्न पाउने निर्माण पक्षले जनाएको छ। फिल्मको कार्यकारी निर्माता एमएस अग्रज हुन्।
यसमा अल्मोडा राना उप्रेतीको संगीत, कबिराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी र पासाङ दावा शेर्पाको सम्पादन छ।
'११ः५५' लाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ।