यम शेर्पा निर्देशित फिल्म 'कार्साङ' पुस २६ गतेदेखि प्रदर्शन हुँदैछ।
फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा सोमबार काठमाडौंमा पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। फिल्मका कलाकार र निर्देशकले गहन विषयमा दर्शकको मन छुने फिल्म बनेको बताएका छन्।
अभिनेता दयाहाङ राईले फिल्म झाँक्री हुँदाको स्मरण गरे।
'झाँक्री विद्या जान्नुपर्ने क्यारेक्टर थियो। आगोमा नाच्नु पर्ने थियो। फिल्म हो चिटिङ भइहाल्छ नि भन्नेमा म थिएँ। तर उहाँहरू केही हुन्न मन्त्र पढेर आगोको राप मारेको छ भन्दै हुनुहुन्थ्यो' दयाहाङले भने, 'डिरेक्टर पनि खासै केही हुँदैन भन्नुहुन्छ। मलाई के गर्नु-गर्नु भयो। ट्राइ चाहिँ गर्छु भन्ने भयो। आगोमा पसेँ सफल भएँ। उहाँहरूसँग ज्ञान रहेछ।'
निर्देशक यम शेर्पाले भने, 'फिल्मको कथा आफैँमा राम्रो छ। फिल्मले दर्शकको मन छुन्छ। भावुक बनाउँछ र हसाउँछ पनि। राम्रो कथामा दयाहाङ राई, दिया मास्के, जितु नेपाल, सिर्जना निङलेखुजस्ता कलाकारको अभिनयनले फिल्मलाई थप सशक्त बनाएको छ।'
फिल्मलाई दर्शकले मन पराउने उनको भनाइ छ।
कलाकार जितु नेपालले फिल्म विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो बनेको बताए। आफू विदेशमा हुँदा धेरैले यो फिल्मको विषय र भूमिकालाई लिएर धेरैले सोधेको उनले बताए।
'म केन्द्रीय चरित्रमा छु वा सहायक त्यसले केही अर्थ राख्दैन। फिल्म कस्तो छ र अभिनय कस्तो छ भन्ने कुरा हो' जितु अगाडि भन्छन्, 'म केन्द्रीय चरित्र हुँदा पनि काम गर्छु। सहायक चरित्र हुँदा पनि गर्छु।'
कलाकारका लागि चरित्र कुन भन्दा पनि काम कस्तो गरेँ भन्ने कुराले अर्थ राख्ने उनको भनाइ छ।
अभिनेत्री सिर्जना निङलेखुले 'कार्साङ' आफ्नो पहिलो फिल्म भएको बताइन्। 'मेरो काम कस्तो छ भनेर हेर्न पनि यो फिल्म हेर्नुपर्छ' उनले भनिन्, 'मलाई प्रतिक्रिया दिन पनि यो फिल्म हेरिदिनुहुन्छ भन्ने लागेको छ। समग्रमा फिल्म राम्रो बनेको छ। मैले पनि राम्रो काम गर्ने प्रयास गरेको छु।'
फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ। फिल्ममा दयाहाङ, सिर्जना, जितु र दीयासँगै बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय छ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा बनेको फिल्मका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन्। सह-निर्मातामा गोविन्द बोहरा छन्। कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन्।