सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्ड बनाएको 'पूर्ण बहादुरको सारंगी' प्रदर्शनको ५१ औं दिनमा प्रवेश गरेको छ।
तिहारको अवसर पारेर रिलिज फिल्मले शुक्रबार ३८ वटा हलमा प्रदर्शनको ५१ औं दिन मनाएको निर्माण पक्षले जनाएको छ। धेरै हलमा ५१ औं दिन मनाउने यो पहिलो फिल्म समेत बनेको छ।
फिल्मले ६ हप्तामा ४९ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। त्यसयताको कलेक्सन आज सार्वजनिक गर्ने जनाइएको छ।
सरोज पौडेल निर्देशित 'पूर्ण बहादुरको सारंगी' मा विजय बराल, प्रकाश सपुत, अञ्जना बराईली, स्वयं केसी, मुकुन भुसाल, बुद्धि तामाङ लगायतको अभिनय छ।
फिल्मको निर्माता विनोद पौडेल, प्याट्रिक सुवेदी हुन्।