चार करोड रूपैयाँंभन्दा बढीको लगानीमा निर्माण हुन लागेको चलचित्र ‘कर्मा’को दाङमा शुभमुहूर्त गरिएको छ।
शुक्रबार दाङको घोराहीस्थित विश्वकै अग्लो त्रिशूल रहेको धारापानी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो।
चलचित्रका छायांकनको अधिकांश हिस्सा दाङमै हुने निर्माण पक्षले बताएको छ। दाङको घोराही, तुलसीपुर, हापुरेसहित रुकुमपश्चिमको बाफिकोट गाउँपालिकाका विभिन्न स्थानहरूमा चलचित्रको छायाँकन हुनेछ। छायांकन ४० देखि ४५ दिनमा सक्ने निर्माण पक्षको तयारी छ।
चलचित्रको मुख्य भूमिकामा विपिन कार्की र उपसनासिंह ठकुरी छन्।
उनीहरूसँग मुकुल भुसाल, अनिल बुढाथोकी लगायतका कलाकारहरू छायांकनका लागि झन्डै डेढ महिना दाङमै बस्ने भएका छन्।
सौरभ चौधरी चलचित्रका निर्देशक हुन्। उनले यसअघि चलचित्र ‘अगस्त्य’, ‘लभ डायरी’ लगायतका चलचित्रहरुको निर्देशन गरेका थिए।
निर्देशक चौधरीले कर्मा ‘एक्सन ड्रामा’मा आधारित चलचित्र रहेको बताएका छन्।
चलचित्रको कथा अनुरुप आफू दुई पटक दाङका विभिन्न ठाउँ अवलोकनमा आएको उनले बताए। ‘कर्माको कथावस्तु अनुसार हामीले दाङसहित रुकुमको भूगोल छनोट गरेका हौं,’ उनले भने।
चौधरीले यो चलचित्रले नेपाली चलचित्र क्षेत्रको स्तरवृद्धीमा भूमिका खेल्ने दाबी पनि गरे।‘कर्मा’ नेपाली चलचित्रलाई विश्वस्तरमा तुलना गर्न लायक चलचित्र निर्माण हुने पनि उनको दाबी थियो।
चलचित्रको निर्माता दाङकै तुलसीपुर उपमहानगरपालिका-६ का बसन्त लम्साल हुन्। उनी पछिल्लो समय अमेरिका बस्दै आएका छन्।
बसन्त २०६१ सालमा प्रहरी निरीक्षकको पदमा कार्यरत हुँदा जागिर छाडेर अध्ययनका लागि अमेरिका गएका थिए।
चलचित्रको शुभमुहूर्तपछि पत्रकारहरूसँगको कुराकानीमा उनले जन्मथलो र देशसँगको मायाका कारण दाङ फर्किएर चलचित्र क्षेत्रमा लागेको बताए।
लामिछाने गायक पनि हुन।२०५१ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेको उनले बताए। उनको ‘छायाँ बस्ने पिपलुको भुइँमा पात झर्यो’ बोलको गीत चर्चित थियो।
'कर्मा'ले एक सामान्य र कर्मशील मानिसको कथा भन्ने निर्माण पक्षले बताएको छ।
चलचित्रको मूख्य भूमिकामा रहेका विपिन कार्कीले हालसम्म गरेकोभन्दा उत्कृष्ट दिने प्रयत्न रहने बताए। नायिकका उपसनासिंह ठकुरीले पनि कथालाई न्याय दिने प्रयास हुने बताइन्।
निर्माता टिमले आगामी नयाँ वर्षमा चलचित्र रिलिज गर्ने घोषणा पनि गरेको छ।
तस्बिरहरूः
सबै तस्बिरः नारायण खड्का/सेतोपाटी।