दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन जमानतमा छुटेका छन्।
हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २: द रूल’ चलचित्रको प्रिमियर सोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएको घटनामा शुक्रबार पक्राउ परेका अल्लूलाई तेलांगना उच्च अदालतले जमानतमा रिहा गरेको हो।
त्यसअघि अल्लूलाई हैदरावादको अदालतले १४ दिनका लागि न्यायिक हिरासत पठाउन आदेश दिएको थियो।
हैदरावादको आदेशविरूद्ध अल्लूका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए। त्यसबारे शुक्रबार नै तेलांगना उच्च अदालतले अल्लूलाई न्यायिक हिरासत पठाउने आदेश उल्ट्याएर उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।
अल्लूलाई जुबली हिलस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो। आफूलाई पक्राउ गर्दा प्रहरीले गरेको व्यवहारबारे अल्लूले आपत्ति जनाएक थिए।
अदालतमा उनले पक्राउ गर्न प्रहरी पुग्दा आफू चिया नास्ता गर्दै गरेको तर प्रहरीले चियानास्ता पनि गर्न नदिएको र कपडा समेत फेर्न नदिएको भनेका छन्। भारतीय सञ्चारमाध्यमहरूले पनि अल्लूलाई पक्राउ गर्दा देखिएको दृश्यहरू सार्वजनिक गरेका थिए।
अल्लूलाई पक्राउ गरी १४ दिन न्यायिक हिरासतमा पठाउने आदेशको भारतीय कलाकारदेखि नेताहरुले समेत विरोध जनाएका थिए।
उच्च अदालतले चलचित्रको प्रिमियर शो को क्रममा अल्लूको उपस्थितमा भागदौड हुँदा दुःखद घटना भएको तर त्यसमा अल्लूलाई मात्रै दोषी मान्न नहुने भनेको छ। त्यस्तै उनलाई पनि अन्य नागरिकसरह स्वतन्त्रताको हक भएकाले जमानतमा रिहा गर्न उच्च अदालतले आदेश दिएको थियो।