प्रकाश सपुत पछिल्लो समय गीत–संगीत भन्दा चलचित्रमा बढी व्यस्त बनिरहेका छन्।
'परदेशी २' बाट अभिनेताका रूपमा डेब्यु गरेका प्रकाशको दोस्रो चलचित्र 'पूर्णबहादुरको सारंगी' प्रदर्शनमा आइसकेको छ। यतिबेला उनले आफ्नै निर्देशनमा चलचित्र 'बसन्त' बनाइरहेका छन्। यो चलचित्र चैत २२ गते रिलिज हुनेछ।
त्यस्तै, प्रकाशको लाइनअपमा केही चलचित्रहरू छन्। उनले चलचित्र 'हरिबहादुरको जुत्ता' मा काम गर्दैछन्। केही दिनअघि मात्रै उनले अर्को चलचित्र 'सोल्टिनी' साइन गरेका छन्।
उनी रोहित अधिकारीको चलचित्र 'माइतीघर' मा पनि अनुबन्धित भएका छन्। यसको कथा रोचक भएकाले काम गर्न उत्साहित रहेको उनको भनाइ छ।
यो २०८२ साल सम्मका लागि आफ्नो अन्तिम चलचित्र भएको प्रकाशले सामाजिक सञ्जालमार्फत बताएका छन्।
यतिञ्जेल चलचित्रमा व्यस्त बन्ने उनी त्यसपछि सांगीतिक यात्रामा निस्किने बताएका छन्।
'माइतीघर' को कुरा गर्दा यसमा प्रकाशसँग केदार घिमिरे (माग्ने बुढा), उपासना सिंह ठकुरी, बुद्धि तामाङ, दिकिला शेर्पाको शीर्ष अभिनय रहनेछ। मिलन तामाङले चलचित्र निर्देशन गर्नेछन्।
२०८२ सालको दसैंमा चलचित्र प्रदर्शनमा आउनेछ।