कवि श्रवण मुकारूङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ।
दीपेन्द्र लामा निर्देशित फिल्म 'दुखी आत्मा' का लागि मुकारूङले विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन्।
पटकथा अनुसार कवि मुकारूङले रचेका ती कविता फिल्मभित्र मिलाएर राखिएको बताइएको छ।
फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारूङले लेखेका कविताहरूको स्वभावबीच एकरूपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताए।
उनले भने, 'उहाँका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ। पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो।'
माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रे.. जस्ता गीतका रचनाकार मुकारूङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरे।
'फिल्मका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,' उनी भन्छन्,'म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु।'
मुकारुङका अधिकांश कविता 'दुखी आत्मा' का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ। यो फिल्ममा दयाहाङसहित आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई लगायत कलाकारको अभिनय छ।
क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण रहेको फिल्ममा सुदीप ढकाल कार्यकारी निर्माता छन्। फिल्म आलोक शुक्लाले छायांकन गरेका हुन्।
भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गतेदेखि 'दुखी आत्मा' प्रदर्शनमा आउने तयारीमा छ।