खेलको लागि युरोप जान लागेकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई उनी अभिनीत फिल्म 'अञ्जिला' को टीमले बिदाइ गरेको छ।
ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा २०२४–२५ सिजनका लागि अनुबन्ध भएकी उनलाई फिल्मको टीमले विशेष सम्मानसहित बिदाइ गरेको हो।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ र फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत नेपाली खेलकुद क्षेत्रका व्यक्तिहरू समेत उपस्थित थिए।
आयोजित कार्यक्रममा फिल्मको वर्ल्ड प्रिमियर यही मंसिर २३ (डिसेम्बर ८) मा हङकङमा आयोजना गरिने जानकारी गराइयो।
हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट भइसकेको उल्लेख गर्दै निर्देशक मिलन चाम्सले भने, 'यसले फिल्मप्रतिको उत्साहलाई देखाउँछ। 'अञ्जिला' ले नेपाली फिल्म र खेलकुदलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।'
प्रिमियरमा निर्देशक चाम्स र एञ्जिला सुब्बा सहभागी हुनेछन्।
हङकङपछि फिल्मको प्रिमियर जनवरी १८ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिने छ। फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर फिल्म एकसाथ प्रदर्शन गरिने कार्यक्रममा जानकारी दिइयो।
प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले फिल्मले नेपाली महिला खेलकुदको महत्व र सम्भावनालाई विश्वसामु पुर्याउने विश्वास व्यक्त गरे।
'प्रतिभाशाली युवाहरूलाई थप उचाइमा पुर्याउन यो फिल्मले ठूलो भूमिका खेल्नेछ,' उनले भने।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले भनिन् 'सम्भवतः यो फिल्म नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो। एञ्जिलाको संघर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ।'
राष्ट्रिय पुरूष फुटबल टिमका कप्तान किरण चेम्जोङले यो फिल्मलाई नेपाली फुटबलको ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
'अञ्जिला' की मुख्य अभिनेत्री एञ्जिलाले पहिलो पटक युरोपमा खेल्ने अवसर पाएकोमा अत्यन्तै खुसी रहेको बताइन्। उनले आगामी दिनमा थप सफलता हासिल गर्न सबैको साथ र समर्थनको अपेक्षा गरेको जनाइन्।
'अञ्जिला' कप्तान एञ्जिला सुब्बाको जीवन संघर्ष र सफलतामा आधारित छ। यसमा एञ्जिला आफैँ प्रमुख भूमिकामा छिन्। साथमा सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतको अभिनय छ।
फिल्मको निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह–निर्माताहरूमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन्। सुदीप बरालको छायांकन रहेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्।
नेपाली खेलकुद र फिल्म दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिने उद्देश्यका साथ निर्माण गरिएको 'अञ्जिला' एञ्जिलाको जीवन कथा रहेता पनि पूर्ण बायोपिक भने नभएको निर्देशक चाम्सले बताए।
निर्माता श्रेष्ठले फिल्मको व्यापारबाट प्राप्त रकमबाट एञ्जिलाको लागि काठमाडौंमा घर तयार गरिने बताए।